मनसुनी वायु सक्रिय रहेका कारण हाल देशभर सामान्यदेखि पूर्ण बदली रही अधिकांश स्थानमा वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मनसुनको सामान्य प्रभावसँगै न्यून चापीय रेखा नेपाल भन्दा केही दक्षिणतिर रहेकाले अहिले प्रदेश नं १ वाग्मती, गण्डकी, लुम्बिनी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम खालको वर्षा भइरहेको छ । महाशाखाका वरिष्ठ मौसमविद् बरुण पौडेलका अनुसार मनसुनी वायुको सक्रियताले गएराति देखिनै देशका पहाडी भेगमा वर्षा हुनुको साथै हाल तराई क्षेत्रमा वर्षा भइरहेको छ । उक्त क्षेत्रमा आज दिनभर वर्षा हुनेछ ।
मनसुन एक सातासम्म सक्रिय रहने र आगामी शुक्रबारसम्म वर्षा हुने मौसमविद् पौडेलले बताए । विशेषगरी राति र बिहानको समयमा वर्षा हुनेछ । दिउँसोतिर केही आकाश खुलेपनि रातिको समयमा वर्षा हुने मौसमविद् पौडेलको भनाइ छ ।
भोलि मङ्गलबार पनि देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश नं १, वाग्मती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मेघ गर्जन÷चट्याङसहित भारी वर्षाको सम्भावना रहेको छ । रातिको समयमा पनि सोही मौसमी प्रणाली कायम रहनेछ । भदौ ९ गते बुधबार पनि देशको अधिकांश भेगमा सामान्यदेखि पूर्ण बदली रही प्रदेश नं १, वाग्मती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानमा मेघगर्जन चट्याङसहित भारी वर्षाको सम्भावना रहेको छ ।
