काठमाडौँ: माधव नेपाल नेतृत्वको एकीकृत समाजवादी बैठक चलिरहेको चन्द्रागिरी हिल्स रिसोर्टलाई काठमाडौं जिल्ला प्रशासनले निषेधाज्ञा उल्लंघन गरेर किन भिडभाड गराएको भन्दै स्पष्टीकरण सोधेको छ ।
रिसोर्टमा सोमबार बेलुकादेखि उक्त पार्टीको भेला चलिरहेको छ । भेलामा सयभन्दा बढी नेताहरु सहभागी छन् ।
काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले निषेधाज्ञाका प्रावधान विपरीत मानिसको भीडभाड गरेको विषयमा रिसोर्ट प्रशासनसँग स्पष्टीकरण सोधिएको बताए ।
निषेधाज्ञाका प्रावधान उल्लंघन गर्दै मानिस भेला गर्नु निषेधाज्ञा विपरीत गतिविधि भएको र यसलाई नियन्त्रण गर्न प्रशासन लाग्ने समाचार प्राप्त भएको छ ।
एमालेबाट फुटेर नयाँ दल दर्ता प्रक्रियामा रहेका पूर्वप्रधानमन्त्री समेत रहेका नेता नेपालले केन्द्रीय सदस्य र सांसदलाई ‘सुरक्षित राख्न’ सोमबार रिसोर्टमा पुर्याएका हुन् ।
आफूपक्षीय केन्द्रीय सदस्य र सांसदसहित उनी सोमबारदेखि चन्द्रागिरि हिल्स रिसोर्टमा बसिरहेका छन् ।
