काठमाडौै: नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमाले अध्यक्ष एवम् तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीका कारण आफूले चितवनको विकास गर्न नपाएको बताएका छन्।
आफू र चिवतनविरुद्ध ओलीले राखेको नकारात्मक सोचकै कारण चितवनका लागि छुट्टिएको अर्बौं रुपैयाँ ल्याउन नपाएको पनि गुनासो गरेका छन्।
सार्वजनिक निजी साझेदारी अवधारणा बमोजिम निर्माण हुन लागेको भरतपुर मेट्रो प्लाजाको बुधबार शिलान्यास गर्दै अध्यक्ष दाहालले नयाँ सरकारले नै देशमा विकासको गति दिने दाबी गरे।
‘तत्कालीन नेकपा अध्यक्षसमेत रहेका ओली प्रधानमन्त्री हुँदा चितवनको विकासमा बाधा गरिरहे, मलाई उनले साथ दिएनन्’, दाहालले भने, ‘मसँग सोच हुँदा हुँदै पनि चितवनको विकास काम गर्न सकिएन। सिटी हल, मेट्रोसम्म हरेक ठाउँमा ओलीले बजेट रोकिदिए। त्यहीकारण चितवनको विकासले गति लिन पाएन।’
दाहालले चितवनको विकास राष्ट्रकै मोडल बनोस् भन्ने आफ्नो चाहना रहेको बताउँदै उनले अब नयाँ सरकारको साथ र सहयोगले फड्को मार्ने पनि बताए।
अध्यक्ष दाहालले देशलाई दुर्घटनाबाट जोगाउन नयाँ गठबन्धन बनेको भन्दै अब नयाँ परिस्थिति निर्माण गर्ने कोशिस गरिने बताए।
दुर्घटनामा परेको देशलाई गठबन्धनले बचाउन सफल भएको भन्दै उनले अब देश विकासमा केन्द्रित हुने बताए ।

