काठमाडौं । चिलिमे जलविद्युतको सहायक कम्पनी रसुवागढी हाइड्रोपावरले निर्माण गरेको रसुवागढी जलविद्युत आयोजना आंशिक रूपमा पुनः सञ्चालनमा आएको छ।
गत असार २४ मा तिब्बतबाट बग्ने ल्येन्दे खोला क्षेत्रबाट हिमताल फुटेर आएको बाढीले आयोजना स्थलमा रहेका बाँध तथा हेडवक्समा ठूलो क्षति पुर्याएको थियो।
हेडवक्स मर्मतपछि नदीको पानीलाई अस्थायी डाइभर्सनमार्फत मोडेर विद्युतगृहमा रहेका तीनवटामध्ये एक युनिट शनिबारदेखि सञ्चालनमा ल्याइएको प्राधिकरणले जनाएको छ।
१११ मेगावाट क्षमताको आयोजनामा प्रत्येक युनिटले ३७ मेगावाट उत्पादन गर्छ। बाँकी दुई युनिट एक महिनाभित्र चलाउने लक्ष्य राखिएको छ। हेडवक्स क्षेत्रको बाँकी पुनर्निर्माण वर्षायाम सुरू हुनुअघि सक्ने गरी काम तीव्र गतिमा भइरहेको कार्यकारी निर्देशक मनोज सिलवालले बताए।
उनका अनुसार प्राधिकरण, चिलिमे तथा रसुवागढी कम्पनीका प्राविधिक र कर्मचारीको निरन्तर प्रयासले क्षतिग्रस्त संरचना जोगाएर आयोजनालाई फेरि उत्पादनमा ल्याउन सम्भव भएको हो। उनले भने, “उत्पादन सुरु भएसँगै हिउँदयामको माग व्यवस्थापनमा राहत मिल्नेछ।”
बाढीले हेडवक्स क्षेत्रमा रहेका मेसिन, गेटलगायतका उपकरण बगाएको थियो। दुई मिटरभन्दा बढी लेदो थुप्रिएको थियो। सुरुङतर्फ पानी पठाउने संरचना भत्किएको थियो भने टेलरेसमा पानी थामिँदा टर्बाइन रहने तल्लो तला पूर्ण रूपमा डुबेको थियो।
घटनाका दिन हेडवक्स र कर्मचारी आवास क्षेत्रबाट २२ जनालाई सेना–हेलिकोप्टरमार्फत उद्धार गरिएको थियो। आवास क्षेत्र पूर्ण रूपमा बगाएको थियो, स्याफ्रुबेंसी–आयोजना सडक पनि पहिरोले अवरुद्ध बनेको थियो।
आयोजनाले १६ पुस २०८१ देखि व्यवसायिक उत्पादन थालेको थियो।
असारको बाढीपछि बन्द भएको आयोजनाबाट पूर्ण क्षमतामा फर्केपछि वार्षिक ६१ करोड ३८ लाख ७५ हजार युनिट विद्युत उत्पादन हुने छ। यसबाट कम्पनीले वार्षिक ३ अर्ब २५ करोड रुपैयाँ आम्दानी गर्ने अनुमान छ।

