घुस लिँदै गर्दा मालपोत कार्यालय चितवनका प्रमुख र वडा कार्यालयका अमिन पक्राउ परेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोग काठमाडौंको टोलीले मालपोत कार्यालय चनौलीका मालपोत अधिकृत मुकुन्द पौडेल र भरतपुर महानगरपालिका–२० का अमिन वीरेन्द्रबहादुर कठायतलाई घुस लिँदै गर्दा पक्राउ गरेको हो।
मालपोत अधिकृत र वडा कार्यालयका अमिनले भरतपुरका एक सेवाग्राहीसँग जग्गाको कित्ताकाट गरिदिने भन्दै घुस लिएका हुन्। करिब ३८ कट्ठा जग्गा आफ्नै बाबुबाट श्रीमती, छोरा र छोरीको नाममा अंशबन्डा गरिदिन भन्दै सेवाग्राही वडा कार्यालय तथा मालपोत पुगेका थिए।
जग्गाको अशंबन्डा नभई प्लटिङ गर्न लागेको भन्दै सेवाग्राहीसँग कार्यालय प्रमुख र अमिनले घूस मागेका थिए। अशंबन्डा गर्दा पनि घूस मागेको भन्दै सेवाग्राहीले अख्तियारमा उजुरी गरेका थिए। प्रमुख पौडेलका साथबाट अख्तियारको टोलीले १५ लाखको चेक र ५० हजार रूपैयाँ नगद बरामद गरेको छ। उनलाई कार्यालयभित्रै रहेको क्वाटरमा घुस लिँदै गर्दा पक्राउ गरिएको हो।
प्रमुख पौडेलले १५ लाख रूपैयाँको चेक घुस नभई आफूले लिनुपर्ने ठाँउबाट पाएको बताएका छन्। यस्तै अमिन कठायतका साथबाट तीन लाख ५० हजार रूपैयाँको चेक र नगद एक लाख ५० हजार रूपैयाँ बरामद गरिएको हाे ।
