काठमाडौँ, मङ्सिर १६ गते । सरकारले अन्तर्राष्ट्रिय मञ्चमा प्रतिवद्धता गरेअनुरूप सन् २०२२ मा नेपालमा बाघको सङ्ख्या २५० भन्दा बढी हुने देखिएको छ । चार वर्ष अघि सन् २०१८ मा गरिएको बाघ गणनामा नेपालमा बाघको सङ्ख्या २३५ थियो । चार वर्ष अघि नै बाघको सङ्ख्या नेपालले गरेको प्रतिवद्धता नजिक पुगिसकेकाले यो सन् २०२२ मा बाघको सङ्ख्या दोब्बर पार्ने मुलुकको सूचीमा नेपाल पर्ने सम्भावना निकै बढेको छ ।
एक दशक अघि नेपालले रसियाको सेन्टपिटर्सबर्गमा भएको अन्तर्राष्ट्रिय बाघ सम्मेलनमा सन् २०२२ सम्ममा तत्कालको बाघको सङ्ख्या दोब्बर गर्ने प्रतिवद्धता गरेको थियो । त्यतिबेला नेपालमा बाघको सङ्ख्या १२१ रहेको थियो । यो सङ्ख्यालाई दोब्बर गर्दै सन् २०२२ सम्म २५० पु¥याउने प्रतिवद्धता नेपालले गरेको थियो । विश्वमा दुर्लभ मानिने बाघ नेपाललगायत १३ वटा देशमा मात्र पाइन्छन् ।
आफ्नो प्रतिवद्धता पूरा गरेको कुरा प्रमाणित गर्न सरकारले यही मङ्सिर १९ गतेदेखि बाघको गणना गर्दैछ । वन तथा वातावरण मन्त्रालय अन्तर्गतको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले बाघ पाइने चितवन, पर्सा, बाँके, बर्दिया र शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज र आसपासका वनक्षेत्रमा बाघको गणना सुरु गर्न थालेको हो । वन तथा वातावरण मन्त्रालयका सचिव डा. पेमनारायण कँडेलका अनुसार बाघ गणनाका लागि तयारी सबै पूरा भइसकेको छ र फिल्डतहमा प्राविधिकहरुलाई प्रशिक्षण गर्ने काम भइरहेको छ ।
