नुवाकोटको विदुर नगरपालिकाले छ खेलाडीलाई नगदसहित आज सम्मान गरेको छ । नगरपालिकाको प्रमुख प्रशासकीय भवनको आज आयोजित शिलान्यास कार्यक्रमका अवसरमा दुई वर्षअघि सम्पन्न भएको १३औँ दक्षिण एसियाली खेलकुद सागका विभिन्न विधाको प्रतियोगितामा पदक विजेता नगरभित्रका खेलाडीलाई नगद र प्रमाणसहित दोसल्ला ओढाएर सम्मान गरिएको हो ।
प्रतियोगितामा साइक्लिङमा स्वर्ण पदक विजेता लक्ष्मी मगरलाई रु ५० हजार प्रदान गरिएको छ । यस्तै तेक्वान्दोमा रजत पदक विजेता कृष्णबहादुर तामाङ, भारोत्तोलनमा रजत पदक विजेता अस्मिता राई, तलवारमा रजत पदक विजेता अञ्जु तामाङ र जुडोमा रजत पदक विजेता सञ्जीत डङ्गोललाई रु ४० हजार तथा तेक्वान्दोमा कास्य पदक विजेता रेजित रिमाललाई रु ३० हजारसहित नगरप्रमुख सञ्जु पण्डितले सम्मान गर्नुभएको हो ।
