नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको आसन्न १४औँ महाधिवेशन सम्बन्धमा छलफल गर्न आफ्नो समूहका नेताहरुको बैठक बोलाउनुभएको छ ।
आज बिहान उहाँको निजी निवास बूढानीलकण्ठमा बोलाइएको बैठकमा महाधिवेशनको तयारी, महाधिवेशनमा पदाधिकारीका उम्मेदवारीलगायत विषयमा छलफल हुने केन्द्रीय सदस्य रमेश लेखकले जानकारी दिनुभयो । सभापति देउवाले भने यसअघि नै सभापतिमा दोहोरिने तयारी गरिसक्नुभएको छ । आजको बैठकमा अन्य पदाधिकारीका उम्मेदवारबारे छलफल हुनेछ ।
कांग्रेस पदाधिकारीमध्ये एक सभापति, दुई उपसभापति, दुई महामन्त्री, आठ सहमहामन्त्रीको निर्वाचन हुने र एक कोषाध्यक्ष निर्वाचित केन्द्रीय सदस्यबाट निर्वाचित हुने पार्टी विधानको प्रावधान छ ।

