संसदीय समितिले कक्षा १२ को परीक्षा छिटोभन्दा छिटो भौतिक रुपमा नै लिने व्यवस्था गर्न सरकारलाई निर्देशन दिएको छ।
समितिको मंगलबार सिंहदरबारमा बसेको बैठकले विद्यार्थीहरुलाई कोभिडविरुद्धको खोपको आवश्यक व्यवस्था गरि कक्षा १२ को परीक्षा छिटोभन्दा छिटो लिने व्यवस्था गर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई निर्देशन दिएको हो।
कोभिडविरुद्धको खोपलगायतका स्वास्थ्य सुरक्षा मापदण्डको पूर्ण पालना हुने गरी कक्षा १२ को परीक्षा छिटो भन्दा छिटो लिने व्यवस्था गर्न सरकारलाई निर्देश गरिएको समितिकी सभापति जयपुरी घर्तीले जानकारी दिइन्।
समितिकी सभापति घर्तीले भनिन्, ‘कोभिडको कारणले मात्रै कक्षा १२ को परीक्षा स्थगित भएको हो । छिटोभन्दा छिटो कोभिडविरुद्धको खोपको व्यवस्था गर्नु पर्यो । विद्यार्थीहरु खोप नलगाउने, छुटने र परीक्षामा सहभागी हुन नपाउने अवस्था आउन दिन हुन्न। यस्ता विषयलाई पनि ख्याल गरेर यो सबै व्यवस्था मिलाएर छिटो भन्दा छिटो परीक्षा लिने दिशातिर सरकार जाओस् भनेर म समितिको तर्फबाट निर्देशन दिन चाहन्छु।’
समितिकी सदस्य एवम् प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका सांसद विद्या भट्टराईले तत्काल स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँग कोभिडविरुद्धको खोपको आवश्यक व्यवस्था मिलाई कक्षा १२ को परीक्षा लिन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयसँग माग गरिन्।
उनले दुवै खोपको व्यवस्था गरि विद्यार्थीहरुलाई जोखिम नहुने गरि परीक्षाको तयारी गर्न पनि सरकारले ध्यान दिनुपर्ने आवश्यक्ता औँल्याइन्।
उनले भौतिक रुपमा कक्षा नभएकाले इन्जिनियरिङ कलेजका विद्यार्थीहरुले अनलाईन फि मात्रै तिरेर परीक्षा लिने व्यवस्था मिलाउन पनि तत्काल सरोकारवाला निकायसँग छलफल गर्ने समितिलाई जानकारी गराए।

