काठमाडौं, कात्तिक २८ गते । सत्तारुढ दल नेपाली काँग्रेसको आइतबारको केन्द्रीय कार्य समितिको बैठकले चौधौं केन्द्रीय महाधिवेशनका लागि प्रधानमन्त्री एवम् काँग्रेस सभापति शेरबहादुर देउवाको संयोकत्वमा मूल तयारी समिति गठन गरेको छ । काँग्रेसका केन्द्रीय पदाधिकारी र केन्द्रीय सदस्य, आमन्त्रित केन्द्रीय सदस्य, संघीय संसदका सदस्य र सात प्रदेशका संसदीय दलका नेताहरु मूल तयारी समितिमा रहने पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिएका छन् ।
काँग्रेसको आइतबारको बैठकमा महामन्त्री पूर्णबहादुर खड्काले विविध प्रस्ताव राखेका थिए । काँग्रेसको नीति र नेतृत्व चयनको अधिवेशन पनि छुट्टै गर्ने प्रस्ताव राखिएको छ । यसैगरी, चौधौं महाधिवेशन व्यवस्थापनका लागि अर्थ संकलनका लागि सरकारका प्रवक्ता समेत रहेका ज्ञानेन्द्रबहादुर कार्कीको संयोजकत्वमा अर्थ संकलन समिति, केन्द्रीय सदस्य सुरेन्द्रराज पाण्डेको संयोजकत्वमा भोजन तथा आवास, डा. प्रकाशशरण महतको संयोजकत्वमा विदेश पहुना स्वागत तथा व्यवस्थापन समिति, प्रचारप्रसारमा विश्वप्रकाश शर्मा, उद्घाट तथा मञ्च व्यवस्थापनमा काठमाडौं, ललितुर र भक्तपुर जिल्ला सभापतिहरु सदस्य रहने गरी समितिहरु गठन गरिएको शर्माले बताए ।
यससँगै काँग्रेसको सातै वटा प्रदेश अधिवेशनका लागि नेता र स्थान पनि चयन गरिएको छ । प्रदेश नम्बर १ अधिवेशन विराटनगरमा गर्नेगरी कृष्णप्रसाद सिटौला, प्रदेश नम्बर २ को जनकपुरमा गर्नेगरी रमेश रिजाल, बागमती प्रदेशको हेटौंडामा गर्नेगरी प्रकाशमान सिंह, गण्डकीको पोखरमा गर्नेगरी गोपालमान श्रेष्ठ, लुम्बिनीको बुटवलमा गर्नेगरी बालकृष्ण खाँड, कर्णालीको सुर्खेतमा गर्नगरी जीवन बहादुर शाही र सुदूरपश्चिम प्रदेशको धनगढीमा गर्नेगरी दिलेन्द्रप्रसाद बडुलाई जिम्मा दिइएको छ । काँग्रेसको प्रदेश अधिवेशन मंसिर १६ र १७ गते हुने जनाइएको छ ।

