३० कात्तिक, विराटनगर । प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले आज प्रदेशसभाबाट विश्वासको मत लिंदै छन् । गत कात्तिक १६ गते पाँच दलीय गठबन्धनको तर्फबाट मुख्यमन्त्री नियुक्त राईले आज साढे १२ बजे बस्ने बैठकबाट विश्वासको मत लिनेछन् ।
आज प्रदेशसभाको नवौं तथा हिउँदे अधिवेशनको पाँचौ बैठक बस्दैछ । बैठकबाट मुख्यमन्त्रीले विश्वासको मत लिने प्रदेश १ का आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले बताए ।
‘विश्वासको मत लिने तयारी स्वरुप सोमबार सत्ता गठबन्धन दलहरुको बैठक बसेको थियो । बैठकले सत्तारुढ दलहरुमा आउन सक्ने सम्भावित असन्तुष्टिलाई सम्बोधन गर्ने प्रयत्न पनि गरेको छ । बैठकले सत्तागठबन्धनको सबैभन्दा ठूलो दल नेपाली काँग्रेस संसदीय दलको नेता राजीव कोइरालाको नेतृत्वमा उच्चस्तरीय राजनीतिक संयन्त्र गठन गर्ने निर्णय गरेको छ । संयन्त्रले सरकारसँग नीतिगत र गठबन्धनलाई मजबुद बनाउने विषयमा समन्वय गर्ने बताइएको छ ।
यसैगरी काँग्रेसकै सांसद शेखरचन्द्र थापाको नेतृत्वमा सरकारको साझा कार्यक्रम तय गर्न कार्यदल पनि बनेको सत्ता गठबन्धनले जनाएको छ । न्यूनतम् साझा कार्यक्रम बनाउने कार्यदलमा माओवादी सांसद धिरेन शर्मा, एकीकृत समाजवादीका सांसद राजन राई, जसपाबाट रामचन्द्र तुम्बा र अशोक चेम्जोङ सदस्य रहनुभएको छ ।

