स्टिङ अपरेशनले मान्यता नपाउने भएपछि घुस रिसवत सम्बन्धी उजुरीमा कमी आएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ।
आयोगको ३१औं वार्षिक प्रतिवेदनमा स्टिङ अपरेशन बन्द भएसँगै उजुरीमा आधाभन्दा बढीले कमी आएको उल्लेख गरिएको हो।
प्रतिवेदनमा आर्थिक वर्ष २०७६/७७ मा २०५ वटा घुसरिसवत सम्बन्धी उजुरी परेको र स्टिङ अपरेशन बन्द भएपछि गत आव २०७७/७८ मा ७० वटा मात्रै परेको उल्लेख गरिएको छ।
आयोगमा परेका उजुरीमध्ये सबैभन्दा बढी स्थानीय तहसँग सम्बन्धित छन्। स्थानीय तहका ३२.७२ प्रतिशत उजुरी छन्।
शिक्षा क्षेत्रका १५.६१, भूमिसँग ९.९ प्रतिशत र वन तथा वातावरण क्षेत्र अन्तर्गत ५ प्रतिशत उजुरी छन्। गैरकानूनी सम्पत्ति आर्जनका विरुद्ध ३.३८ प्रतिशत उजुरी परेको प्रतिवेदनमा औंल्याइएको छ।
