२ मंसिर, काठमाडौं ।
सर्वोच्च अदालतमा इजलास र मुद्दा तोक्ने व्यवस्था गोला प्रथाद्वारा गर्न नियमावली संशोधन हुँदैछ ।
सर्वोच्च अदालत नियमावलीमा प्रधानन्यायाधीशले इजलास र मुद्दा तोक्ने व्यवस्था छ । त्यही व्यवस्था हटाई गोलाप्रथाबाट इजलास गठन र मुद्दा तोक्ने व्यवस्था राख्नका लागि निमावली संशोधन गर्न खोजिएको हो। गोलाप्रथा कसरी कार्यान्वयन गर्ने भन्नेबारे निर्देशिका बनाइएको हो । पूर्ण बैठकको निर्णयपछि मात्रै निर्देशिका कार्यान्वयन गर्ने तयारी भएको छ ।
यसका लागि प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर जबरालाई अस्विकार गरेका सर्वोच्च अदालतका असन्तुष्ट १९ न्यायाधीशहरुले समानान्तर पूर्णबैठक (फूल कोर्ट)को तयारी गरेका छन् ।
‘प्रधानन्यायाधीशज्यूले आफू अनुकूल इजलास गठन गर्ने र आफ्ना स्वार्थ र रुचिका मुद्दा त्यही इजलासमा राखेर आफू अनुकूल निर्णय गर्न दबाव दिएका कारण न्यायपालिकामा भ्रष्टाचारले संस्थागत रुप धारण गरेको न्यायाधिशहरुको भनाइ छ ।
न्यायाधीश हरिकृष्ण कार्की नेतृत्वको समितिले तत्कालका लागि गोलाप्रथा र दीर्घकालीन रुपमा स्वचालित पेशी प्रणाली लागू गर्नुपर्ने सुझाव दिएको थियो ।
