काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले सोमवार पनि प्रतिनिधि सभा बैठक बहिष्कार गरेको छ।
सोमवार बसेको प्रतिनिधिसभाको बैठकमा राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनले आफूहरुले संसद बैठक बहिष्कार गरेको बताए । सोमबार बोल्दै उनले संसद्मा विरोध जारी राखिरहेको बेला जबरजस्ती संसद अगाडि बढाउनु संसदीय मर्यादाको दृष्टिकोणले उचित नभएको बताए।
उनले जबसम्म संसदलाई जबरजस्ती अगाडि बढाउने काम भइरहन्छ, तबसम्म उक्त कर्मकाण्डमा राप्रपा सहभागी नहुने बताउँदै राप्रपा अध्यक्ष लिङदेनले बैठक भत्ता राजश्वमा फिर्ता हुने व्यवस्था गर्न आग्रह गरे।
उनले संसद्मा एक सय सिट भएको पार्टी र एक सिट मात्रै भएको पार्टीको पनि उत्तिकै मर्यादा र हैसियत हुने बताए। साथै, उनले जसले कुनै पनि विचारलाई निषेध गर्न नपाइने भन्दै निर्वाचन प्रणाली बनायो, उसैले नै यसको उल्लङ्घन गरिरहेको जिकिर गरे।
संसद अवरोधको समयमा पनि राज्यकोषको ठूलो हिस्सा खर्च भएको भन्दै व्यापक आलोचना भएका बेला राप्रपाले आफूहरुले बैठक भत्ता नलिने उद्घोष गरेको हो ।

