काठमाडौं, असार २ । सरकारले सञ्चालनमा ल्याएको स्टार्टअप उद्यम कर्जा कार्यक्रम अन्तर्गत चालु आर्थिक वर्ष २०८१/८२ मा कर्जा वितरण प्रक्रिया औपचारिक रूपमा सुरु गरिएको छ। औद्योगिक व्यवसाय विकास प्रतिष्ठानका अनुसार अहिलेसम्म छनोट भएका ६६१ उद्यमीमध्ये ८१ जनाले गरी कुल ९ करोड ७ लाख रुपैयाँ कर्जा प्राप्त गरेका छन्।
यस कार्यक्रमअन्तर्गत नवप्रवर्तनशील सोच, नयाँ प्रविधिमा आधारित उत्पादन र उद्यमशीलतालाई प्राथमिकता दिइएको छ। कर्जा प्राप्त गर्ने उद्यमीहरू कृषि, सूचना प्रविधि, उत्पादन तथा सेवा क्षेत्रका हुन्।
साथै, कर्जा प्रक्रियामा रहेका थप १०० उद्यमीले बैंकमा खाता खोली सकिएको प्रतिष्ठानले जनाएको छ। बाँकी उद्यमीहरूको पनि आवश्यक कागजात संकलन तथा बैंकिङ प्रक्रिया अगाडि बढिरहेको छ।
सरकारको लक्ष्य युवालाई स्वरोजगारमा जोड्ने र नयाँ व्यवसायिक सोचलाई आर्थिक रूपले सहयोग पुर्याउने हो। यस कार्यक्रमले नवप्रवर्तनशील स्टार्टअपहरूलाई प्रोत्साहन गर्दै दीर्घकालीन आर्थिक विकासमा टेवा पुर्याउने अपेक्षा गरिएको छ।

