काठमाण्डौ । शुक्रबार कोशी, मधेश, बागमती, गण्डकी प्रदेशका केही भूभाग र लुम्बिनी प्रदेशका पूर्वी क्षेत्रका थोरै भूभागमा मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार देशको पश्चिम भूभागमा पश्चिमी वायु तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको छ।
यसैगरी भारतको पश्चिम बङ्गाल आसपासको क्षेत्रमा बनेको न्यूनचापीय क्षेत्रको वायुको समेत आंशिक प्रभाव छ।
शुक्रबार विहान देशभर आंशिकदेखि साधरणतया बदली रहेको छ। कोशी, मधेश, बागमती प्रदेशका थोरै र बाँकी प्रदेशका एकदुई स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
दिउँसो देशभर आंशिक देखि साधरणतया बदली रहने पूर्वानुमान छ। देशको पहाडी भूभागको केही तथा बाँकी भूभागको थोरै स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।
कोशी, बागमती र गण्डकी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। देशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का वर्षासहित हिमपातको सम्भावना रहेको छ। कोशी र मधेश प्रदेशका तराईका भूभागका थोरै स्थानमा हावाहुरीको सम्भावना छ।
राति देशभर आंशिकदेखि साधरणतया बदली रहनेछ। देशको पहाडी भूभागको केही तथा बाँकी भूभागको थोरै स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले बताएको छ।

