काठमाडौै: मस्तिष्कघात भएपछि प्रगतिशील गायक जुठबहादुर खड्गी (जेबी टुहुरे)को स्वास्थ्य स्थिति गम्भीर र स्थिर रहेको उपचारमा संलग्न चिकित्सकले बताएका छन् ।
गत मंगलबार काठमाडौंको कलंकीमा अवस्थित निजी निवासमा एक्कासी लडेपछि उनलाई बल्खुस्थित बयोधा अस्पतालको सिसियू कक्षमा भर्ना गरिएको थियो ।
मुटु, फोक्सो, मधुमेह र उच्च रक्तचापका दीर्घ रोगी समेत रहेका ७८ वर्षीय टुहुरेलाई अप्रेसन गर्न जोखिमपूर्ण रहेकाले औषधिको माध्यमबाट उपचार जारी राखिएको बताइएको छ । टुुहुरेको उपचारमा सम्भव सबै प्रयत्न जारी राखिए पनि अपेक्षाकृत सुधार हुन नसकिरहेको डा. को भनाइ छ । ।
टुहुरेलाई हाल भेन्टिलेटरमा राखेर उपचार जारी राखिएको छ ।
बिहीबार पूर्व प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’अस्पताल पुगेर उनको स्वास्थ्य स्थिति बुझेका थिए । उनलेे टुहुरेको उपचारको सम्पूर्ण खर्च व्यहोर्न सरकारलाई आग्रह गर्ने बताएका थिए ।
अस्पतालमा टुहुरेलाई भेट्न एमाले महासचिव ईश्वर पोखरेल, अर्थमन्त्री जनार्दन शर्मा, कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्मा, पूर्वमन्त्री कृष्णगोपाल श्रेष्ठलगायत पुगेका छन् ।
