काठमाडौँ। नेपाल अन्तरराष्ट्रिय महिला ट्वान्टी-२० शृङ्खलाको पहिलो खेलमा मलेसियासँग तीन रनले पराजित भएको छ । मलेसियाको बायुमास ओभलमा बिहिबार सम्पन्न खेलमा १०५ रनको लक्ष्य पछ्याएको नेपालले २० ओभरमा पाँच विकेट गुमाउँदै १०१ रन मात्रै बनाउन सक्यो ।
नेपालका लागि पूजा महतोले २९ बलमा सर्वाधिक ३० रन बनाइन भने सम्झना खड्काले १६ बलमा १८ रन जोडिन् । कविता जोशीले १३ रन बनाइन् । मलेसियाका लागि नुर डानियाले सर्वाधिक तीन विकेट लिइन् । त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको मलेसियाले निर्धारित २० ओभरमा पाँच विकेट गुमाउँदै १०४ रन बनाएको थियो ।
उसका लागि कप्तान विनिफ्रेड डुरैसिङ्गमले सर्वाधिक २७ रन बनाइन् भने ओपनर ऐना हमिजा हसिमाले २६ रन र मास ऐसाले २५ रन बनाइन् । नेपालका लागि सुमन विष्टले दुई, रुविना क्षेत्रीले एक विकेट लिए । नेपाली महिला टोलीले आगामी जनवरीमा नेपालमै आयोजना हुने महिला टी–२० विश्वकपको ग्लोबल छनोट खेल्दै छ ।
सोही प्रतियोगिताको तयारीका स्वरुप नेपालले जारी प्रतियोगिता खेलेको हो ।

