बिहीबार सेयर बजारको परिसूचक नेप्से ३२.५१ अंकले घटेको छ। यसअघि बुधबार ५० अंकले बढेको थियो। आजको कारोबारपछि परिसूचक २६३३ अंकमा झरेको छ। उच्च अंकको रेकर्ड बनाएयता बजार १७.६ प्रतिशतले घटिसकेको छ।
आज कारोबार रकम पनि निकै घटेको छ। दिनभर जम्मा ३ अर्ब ७० करोडको सेयर किनेबच भयो। हिजो ५ अर्ब २ करोडको कारोबार भएको थियो। समूहगत रुपमा हेर्दा यस दिन म्युचुअल फण्ड, अन्य र ब्यापार बाहेकका सबै समूह घटेका छन्। म्युचुअल फण्ड ०.०३, अन्य ४.५ र ब्यापार समूह ११८ अंकले बढे।
बैंकिङ २०, विकास बैंक १५५, फाइनान्स ६८, होटल तथा पर्यटन ४४, जलविद्युत ८२, लगानी १, जीवन बीमा १०१, उत्पादन १०२ र निर्जीवन बीमा १०४ अंकले घटे।
आज ३३ कम्पनीको मूल्य बढेको छ। १४७ कम्पनीको मूल्य घटेको छ भने ६ कम्पनीको मूल्य स्थिर रह्यो। तीन कम्पनीको मूल्य १० प्रतिशतले बढेको छ। यसरी १० प्रतिशत मूल्य बढ्ने कम्पनीमा नेपाल फाइनान्स, मनकामना स्मार्ट लघुवित्त र मैलुङखोला जलविद्युत छन्।
मूल्यवृद्धिपछि नेपाल फाइनान्सको प्रतिकित्ता ५२८, मनकामनाको २११९ र मैलुङखोलाको २९५ रुपैयाँ मूल्य कायम भएको छ। गुडविल फाइनान्स, प्रिमियर इन्स्योरेन्स र हिमालय पावर पार्टनरको मूल्य ६ प्रतिशत बढीले घटेको छ।
कारोबारका आधारमा नेपाल बैंक अग्रस्थानमा रह्यो। सो बैंकको १२ करोडको सेयर किनबेच भयो। अपि पावर, मेगा बैंक, हिमालयन डिस्टिलरी र पुनर्बीमा कम्पनी पनि कारोबारका आधारमा उत्कृष्ट पाँचभित्र पर्न सफल भए।

