१६ असोज, काठमाडौै। भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा साढे २ अर्ब रुपैयाँ बराबरको बुद्धमूर्ति राखिने भएको छ। बुद्धमूर्ति म्यान्मारबाट हङकङ हुँदै कोलकाता बन्दरगाहमा आइपुगेको छ।
‘म्यान्मारस्थित खानीसम्बन्धी कम्पनी मालविन ग्रुपले स्पेनको लुम्बिनी गार्डेन फाउन्डेसनलाई दिएको बुद्धमूर्ति हो। फाउन्डेसनलाई नेपाल सरकारलाई हस्तान्तरण गर्दै गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा राख्ने हाम्रो योजना हो,’ फाउन्डेसनका महासचिव गिरीले भने ।
गिरिका अनुसार १ हजार ८ सय केजी तौल भएको मूर्ति १.९ मिटर उचाइ र ६० सेन्टिमिटर चौडाइको रहेको छ।’ बहुमूल्य धातु ‘ह्वाइट जेड’ बाट बुद्धमूर्ति बनेकाले यो महङ्गो हुन गएको हो,’ उनले भने। कागाजी प्रक्रिया मिलाएर दुई साताभित्र बुद्धमूर्ति नेपाल आइपुग्ने फाउन्डेसनले जनाएको छ।
फाउन्डेसनले बुद्धमूर्ति अनावरणका लागि राष्ट्रपति विद्यादेवी भण्डारीलाई निमन्त्रणा दिएको छ। बिहिबार फाउन्डेसनका पदाधिकारीहरुले राष्ट्रपति भण्डारीलाई शीतलनिवासमा भेटवार्ता गर्दै निमन्त्रणा दिएका हुन्। भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा राखिने बुद्धमूर्तिको कार्तिक १४ मा अनावरण गरिने कार्यक्रम रहेको छ।
