काठमाडौँ । माथिल्लो तामाकोशी जलविद्युत् आयोजना पुसबाट सञ्चालनमा ल्याउने गरि काम अघि बढेको छ। ४५६ मेगावाटको माथिल्लो तामाकोशीबाट पुस १० भित्रै विद्युत् उत्पादन गर्ने गरी मर्मत सम्भार तालिका तय भएको हो ।
असोज ११ र १२ गतेको वर्षाले दोलखाको बिगु गाउँपालिका–१ लामाबगरस्थित माथिल्लो तामाकोशी जलविद्युत् केन्द्रको बाँध क्षेत्रका संरचना (हेडवर्क्स) मा ठूलो क्षति पुगेको थियो । बाँधस्थलभन्दा केही तल दायाँतर्फ अवस्थित नियन्त्रण कक्ष (कन्ट्रोल रुम) भवन, बालुवा थिग्ग्रयाउने पोखरी (डिस्याण्डर) र बाँधबाट डिस्याण्डरसम्म पानी पुर्याउने भूमिगत नहर (कल्भर्ट)मा ठूलो क्षति पुगेको थियो ।
दुईवटा डिस्याण्डरमध्ये बायाँतर्फको डिस्याण्डरको मर्मतसम्भार पुस १० भित्र सम्पन्न गरी विद्युत् उत्पादन सुरु गर्ने तालिका तय गरिएको हो । यसका लागि आंशिक रुपमा क्षति पुगेको डिस्याण्डरको पर्खालको पुरानो ढलानलाई भत्काएर मर्मत गरी कल्भर्ट भित्ता र सिलिङमा देखिएका चिराहरुको ग्राउटिङ गर्ने काम समानान्तर रुपमा अगाडि बढाइने आयोजनाले बताएको छ ।
दायाँतर्फको अर्को डिस्याण्डर मर्मत र हाल सतहमा रहेको कन्ट्रोल रुमलाई भूमिगत बनाउन डिजाइन गरी पुनर्निर्माण प्रक्रिया तत्काल अगाडि बढाइने र आगामी वर्षायाम सुरु हुनुभन्दा अघि नै सक्ने लक्ष्य छ । वर्षाले क्षति पुगेको आयोजनाको विद्युत् प्रवाह गर्ने प्रसारण लाइनको एउटा टावरको मर्मतसम्भार सकिएको छ ।
आयोजनाको प्रवर्धक कम्पनी अपर तामाकोशी हाइड्रोपावर लिमिटेड सञ्चालक समितिका अध्यक्षसमेत एवम् नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, कम्पनी सञ्चालक समितिका सदस्यहरु, प्रमुख कार्यकारी अधिकृत (सीइओ) सहितको टोलीले बुधबार आयोजनाको स्थलगत अनुगमन गरी भइरहेको मर्मतसम्भारको जानकारी लिएको थियो ।
टोलीबाट आयोजना व्यवस्थापन, परामर्शदाता र निर्माण व्यवसायीसँग छलफल गरी पुस १० भित्र विद्युत् उत्पादन सुरु गर्ने र त्यसको १५ दिनभित्रमा विद्युत् बढी माग हुने पिक समयमा चलाउने गरी मर्मत सम्भार सम्पन्न गर्ने गरी समय तालिका तय गरिएको छ । विद्युत् कम माग हुने समयमा पानी जम्मा गरी आयोजनालाई पिक समयका ४ घण्टा पूर्ण क्षमतामा चलाउने तयारी छ ।
हिउँदयाममा विद्युत् गृह चलाउन नसकेमा आन्तरिक रुपमा विद्युत् माग र आपूर्ति व्यवस्थापन चुनौतीपूर्ण देखिएकाले सञ्चालक समितिको टोली जतिसक्दो छिट्टो विद्युत् गृहलाई सञ्चालनमा ल्याउन अपनाउनु पर्ने उपायहरु तय गर्न स्थलगत अनुमगनमा गएको बताएको छ ।
कार्यकारी निर्देशक घिसिङले माथिल्लो तामाकोशीबाट तोकिएको समयमा विद्युत् उत्पादन गर्न नसकिएमा देशभित्रको मागबमोजिम विद्युत् आपूर्ति गर्न नसकी अप्ठ्यारो अवस्था आउने भएकाले मर्मत सम्भारमा सबै गम्भीर र संवेदनशील भएर लाग्न आग्रह गरे । ‘आगामी मार्चसम्म दिउँसो र राति मात्र भारतबाट विद्युत् आयात अनुमति पाएकाले आन्तरिक उत्पादनले हिउँदयामको साँझ र बिहान (पिक समय) को विद्युत् माग धान्न गाह्रो छ, मार्च र अप्रिलमा रातिमासमेत आयात गर्न अनुमति पाएका छैनौं, यस्तो अवस्थामा पिकिङ गर्न सकिने माथिल्लो तामाकोशी आएन भने अप्ठ्यारो अवस्था आउने छ,’ घिसिङले भने। ‘दायाँतर्फको डिस्याण्डरको मर्मतसम्भार आगामी वर्षायाम सुरु हुनुभन्दा पहिले नै सक्ने गरी काम अगाडि बढाऔं, त्यसो गर्न सकिएन भने उत्पादन गर्न नसकी वर्षायाममा विद्युत् खेर फाल्नुपर्ने अवस्था आउन सक्छ, यस्तो संवेदनशील अवस्थामा सबै गम्भीर भएर लागौं ।’

