काठमाडौं, बैशाख १८ — नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपालको गणतन्त्र स्थापना श्रमजीवी वर्गको निरन्तर संघर्षको फल भएको बताएका छन्। उनले श्रमिक दिवसको अवसरमा आयोजित एक कार्यक्रममा बोल्दै देशमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनाको श्रेय मजदुर, किसान र श्रमजीवी वर्गलाई जाने स्पष्ट पारे।
“राजनीतिक परिवर्तन आकस्मिक होइन, यो श्रमजीवी वर्गको लामो संघर्ष र त्यागको परिणाम हो,” उनले भने, “गणतन्त्रलाई संस्थागत गर्दै समाजवादको दिशामा अघि बढ्नु आजको मुख्य कार्यभार हो।”
प्रधानमन्त्री दाहालले पछिल्लो समय श्रमिकका अधिकार र सामाजिक सुरक्षालाई मजबुत बनाउने दिशामा सरकार प्रतिवद्ध रहेको समेत जनाए। उनले उत्पादनशीलता वृद्धि, रोजगारीको सृजना र सामाजिक न्यायको सुनिश्चितता विना समाजमा स्थायित्व सम्भव नरहेको पनि उल्लेख गरे।
कार्यक्रममा विभिन्न श्रमिक संगठनका प्रतिनिधिहरूले समेत गणतन्त्र स्थापना र समाज परिवर्तनमा श्रमिकहरूको योगदानलाई स्मरण गर्दै सरकारलाई श्रमिकमैत्री नीति कार्यान्वयन गर्न आग्रह गरे।

