काठमाडौं । सरकारले नयाँ ‘राष्ट्रिय युवा नीति–२०८२’ स्वीकृत गरेसँगै युवाको उमेर सीमा अब १८ देखि ३५ वर्ष कायम गरिएको छ।
राष्ट्रिय युवा परिषद्का कार्यकारी उपाध्यक्ष सुरेन्द्र बस्नेतका अनुसार यसअघि ‘राष्ट्रिय युवा नीति–२०७२’ मा १६ देखि ४० वर्षलाई युवा मानिएकोमा नयाँ नीतिअनुसार १८ देखि ३५ वर्ष उमेर समूहलाई मात्र युवा मानिने उल्लेख छ।
२०७८ सालको जनगणना अनुसार १६ देखि ४० वर्ष उमेर समूहको जनसङ्ख्या ४२.५६ प्रतिशत थियो। अब नयाँ नीतिअनुसारको तथ्याङ्क निकाल्नुपर्ने उनले बताए।
बस्नेतका अनुसार बालबालिकासम्बन्धी ऐनले १८ वर्षसम्मलाई बालबालिका परिभाषित गरेकाले १८ वर्षदेखि ३५ वर्षसम्मलाई युवा समूहमा राखिएको हो। उनले भने, “राष्ट्रिय युवा परिषद् ऐन–२०७२ संशोधन नभएसम्म कानुनी रुपमा भने अझै १६ देखि ४० वर्षलाई नै युवा मानिने अवस्था रहन्छ।”
संयुक्त राष्ट्रसंघले १५ देखि २४ वर्षलाई युवा भनेको छ भने भारतमा पनि सोही उमेर समूहलाई युवा मानिँदै आएको छ। नेपालमा भने सन्दर्भ र परिवेशअनुसार १८ देखि ३५ वर्ष समूहलाई युवा मानिएको हो।
प्रत्येक पाँच वर्षमा नीति परिमार्जन गर्नुपर्ने व्यवस्था भए पनि करिब १० वर्षपछि मात्रै नयाँ युवा नीति संशोधन गरिएको हो।

