काठमाडौँ । १८औं पुस्तकालय दिवसको अवसरमा बास नेपालले पुस्तकालयको महत्वबारे छलफल गर्दै एक जना उत्कृष्ट पाठकलाई सम्मान गरेको छ ।
बास नेपाल केन्द्रीय कार्यालयद्वारा सञ्चालित असल शासन सूचना केन्द्रमार्फत वर्षभरि पुस्तक अध्ययन, उपयोग तथा पुस्तकालयको महत्व प्रचारप्रसार गरेको आधारमा दिनेश चौधरीलाई उत्कृष्ट पाठक सम्मान प्रदान गरिएको हो । उनलाई सम्मानपत्र, खादा र मायाको चिनो सहित सम्मान गरिएको कार्यक्रममा बास नेपालका केन्द्रीय अध्यक्ष शिवकुमार वर्मा अध्यक्षता गरेका थिए ।
कार्यक्रममा नेपालमा पुस्तकालयको इतिहास, महत्व र उपयोगबारे बास नेपालका निर्देशक हेमराज भट्टले जानकारी प्रस्तुत गरेका थिए । सम्मानित युवा दिनेश चौधरीले असल शासन सूचना केन्द्रले लोकसेवा, क्याम्पसका पुस्तकसँगै उपन्यास, जीवनी, धार्मिक तथा साहित्यिक पुस्तक अध्ययन गर्ने अवसर मिलेको भन्दै पुस्तकालयले थप प्रेरणा दिएको बताए ।
केन्द्रकी संयोजक रमिता शाहले पुस्तकालयमा सबै प्रकारका पुस्तक र इन्टरनेटको सुविधा उपलब्ध रहेको भन्दै विद्यार्थी, लोकसेवा तयारी गर्ने तथा साहित्यप्रेमी युवालाई यसको उपयोग गर्न आग्रह गरिन् । उनले असल शासन सूचना केन्द्रमार्फत गठन भएका रिडर्स क्लबमा विद्यार्थी र युवाको सक्रिय सहभागिता बढिरहेको बताइन् ।
कार्यक्रमको सञ्चालन बास नेपालका जनसम्पर्क अधिकृत माधव कार्कीले गरेका थिए ।

