काठमाडौै: सरकारले अफगानिस्तानबाट फर्केका नेपालीलाई पोलियोविरुद्धको खोप पोलियो थोपा खुवाउन सुरु गरेको छ। सोमबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानास्थलमा ओर्लिने बित्तिकै उनीहरुलाई खोप दिएर मात्र विमानास्थल बाहिर जान पाउने व्यवस्था गरिएको खबर छ।
नेपालमा सन् २०१० मै पोलियो उन्मुलन भएको भएपनि अफगानिस्तान पोलियोको लागि जोखिमस्थल भएकोले पोलियो थोपा दिन लागिएको छ ।
चिकित्सकका अनुसार पोलियो भाइरस शरीरमा कुनै पनि माध्यमबाट प्रवेश गरेपछि हात र खुट्टाका स्नायुमा असर गर्छ। स्नायुमा असर गरेपछि हात तथा खुट्टा लुलो भई ती अंग लुलो भएर जान्छन् र काम गर्न सक्दैनन्।
पोलियो भाइरस पोलियो संक्रमित व्यक्तिले गरेको दिसाबाट अर्को व्यक्तिमा सर्छ। संक्रमित व्यक्तिको दिसा कुनै पनि कारणले पानीमा मिसिएमा र त्यो पानी अर्को व्यक्तिले पिएको अवस्थामा दोस्रो व्यक्ति संक्रमित हुन्छन्।
यो खोपले पहिला खोप लिन छुटेका व्यक्तिलाई खोप मिल्ने र लिएकाहरुले पुन लिँदा पनि कुनै असर नगर्ने बताइएको छ ।

