भक्तपुर, असोज २५ — मध्यपुर ठिमी–४, शंखधरस्थित शंखधर बचत तथा ऋण सहकारी संस्था लि.को आयोजनामा तथा युवा उपसमितिको संयोजनमा दुईदिने “सहकारीमा युवाको भूमिका तथा नेतृत्व विकास” तालिम सम्पन्न भएको छ । तालिम शंखरापुर–२, लप्सीफेदीस्थित होटल हिभन हिलमा असोज २४ र २५ गते सम्पन्न गरिएको हो ।
कार्यक्रमको उद्घाटन सहकारी संस्थाका अध्यक्ष श्यामकृष्ण श्रेष्ठले गर्नु भयो । उहाँले सहकारी संस्थामा युवाको भूमिका अनिवार्य रहेको र युवावर्गले सहकारीको नेतृत्व र विकासमा सक्रिय हुनुपर्नेमा जोड दिनुभयो ।
सहकारीका व्यवस्थापक राजेन्द्र कुमार कायस्थले सहकारीको इतिहास, परिचय, संस्थाको स्थापना र हालसम्मको आर्थिक तथा प्रगतिमूलक विवरण प्रस्तुत गर्नुभयो । तालिमका प्रशिक्षक तुल्सीहरि प्रजापतिले युवाहरुलाई जोश, जाँगर र सकारात्मक सोचसहित सहकारी क्षेत्रमा योगदान दिन प्रेरणा प्रदान गर्नुभयो ।
कार्यक्रमको सञ्चालन सचिव लक्ष्मीभक्त (राजु) श्रेष्ठले गर्नुभएको थियो भने युवा उपसमितिका संयोजक हृजेश बज्राचार्यले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो ।
संस्थाले भविष्यमा पनि युवामुखी कार्यक्रम निरन्तर सञ्चालन गर्ने प्रतिबद्धता जनाएको छ ।

