को हुन् निजामती कर्मचारीको सर्वोच्च पद मुख्यसचिवमा नवनियुक्त अर्याल ?
काठमाडौँ । मन्त्रिपरिषद् बैठकले सुमनराज अर्याललाई नेपाल सरकारको मुख्यसचिवमा नियुक्त गर्ने निर्णय गरेको छ । अर्याल २९ औँ मुख्यसचिव हुन् ।
उमेरहदका कारण अवकाशमा जान लागेका एकनारायण अर्यालको स्थान अब सुमनराज अर्यालले ओगट्ने भएका छन्। २०७७ माघमा सचिवमा बढुवा भएका अर्यालले अब ७ महिना निजामती कर्मचारी नेतृत्व गर्नेछन्।
सुमनराज अर्यालसँग कोशी प्रदेशको प्रमुख सचिव, महालेखा नियन्त्रक कार्यालय, महिला, ज्येष्ठ नागरिक मन्त्रालय, युवा तथा खेलकुद मन्त्रालय, राष्ट्रिय योजना आयोग र प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा काम गरेको अनुभव छन्।
२०२५ असार २६ गते जन्मिएका काठमाडौँ जोरपाटीका अर्यालले २०८३ असार २५ गते उमेरहदका कारण अवकाश पाउनेछन्। तथ्याङ्क विज्ञ अर्याल असोज पहिलो हप्ता राष्ट्रिय योजना आयोगबाट रक्षा मन्त्रालयमा सरुवा भएका थिए।
मुख्य सचिव पदका लागि सुमनराज अर्यालसँगै खानेपानी सचिव प्रमिलादेवी बज्राचार्य शाक्य, राष्ट्रिय तथ्याङ्क कार्यालय प्रमुख मधुसूदन बुर्लाकोटी र श्रम सचिव कृष्णहरि पुष्कर कर्ण प्रतिस्पर्धामा थिए।
अर्यालको नियुक्तिसँगै अन्य अधिकारीको मुख्यसचिव बन्ने सम्भावना बन्द भएको छ।

