काठमाडौँ । राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा दुई रोमाञ्चक खेल हुने भएका छन्। बिहान ११:१५ बजे हुने पहिलो खेलमा सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्स आमनेसामने हुनेछन् भने दिउँसो ३:३० बजे चितवन राइनोज र पोखरा एभेन्जर्स भिड्नेछन्।
पहिलो खेलमा सुदूरपश्चिममाथि कुनै दबाब छैन। अपराजित रहँदै छ खेलबाट १२ अंक जोडिसकेको उसले पहिले नै पहिलो क्वालिफायर सुरक्षित गरिसकेको छ। तर विराटनगरका लागि आजको खेल निर्णायक बन्नेछ। आठ अंकका साथ प्लेअफमा पुगिसकेको विराटनगरले पहिलो क्वालिफायरमा प्रवेश गर्न विराटनगरको लागि जित अनिवार्य छ। विराटनगरले राम्रो रनरेटका साथ जित निकाले सुदूरपश्चिमसँगै पहिलो क्वालिफायरमा भिड्नेछ।
दिउँसो हुने दोस्रो खेल भने प्रतिष्ठाको लडाइँ मात्र बन्नेछ। चितवन र पोखरा दुवै प्लेअफ दौडबाट बाहिरिसकेका टोली हुन्। दुवैले छ–छ खेलबाट चार–चार अंक मात्रै जोड्न सफल भएका छन्।
