नेपाली कांग्रेसले काठमाडौंमा गाउँ/नगरको अधिवेशन शनिबार गर्दैछ। काठमाडौंमा ११ वटा स्थानीय तह छ। काठमाडौंका सबै पालिकामा असोज १६ मा अधिवेशन हुन लागेको छ। यसपालि काठमाडौं महानगरमा दुई जना उम्मेदवार आमनेसामने हुने भएका छन्।
सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षबीच प्रतिस्पर्धाको तयारी छ। काठमाडौंमा सभापति देउवा र वरिष्ठ नेता पौडेलको तलैसम्म जनधार बलियो भने छैन।
यहाँको संगठनमा पूर्वमहामन्त्री प्रकाशमान सिंह र केन्द्रीय सदस्य भीमसेनदास प्रधानको प्रभाव धेरै छ। यसपालि निलकाजी शाक्य र प्रगतिमान रञ्जित काठमाडौं महानगरको सभापति पदका लागि चुनावी प्रतिस्पर्धामा उत्रने भएका छन्।
शाक्यलाई पूर्वमहामन्त्री प्रकाशमान सिंह र रञ्जितलाई केन्द्रीय सदस्य भीमसेनदान प्रधानको समर्थन छ। रञ्जितलाई सभापति देउवा पक्षले पनि समर्थन गरेको छ। निलकाजी काठमाडौं महानगर वडा नम्बर २५ का अध्यक्ष हुन्। उनले कम्युनिष्टहरूको गढमा २०७४ सालमा वडाध्यक्ष चुनाव जितेका थिए।
निलकाजीले केही समय बिपी कोइराला र गणेशमान सिंहनिकट रहेर पनि काम गरेका थिए। उनी कम्युनिष्टहरूले जित्दै आएको ठाउँमा आफूले पहिलोपटक कांग्रेसबाट वडाध्यक्ष जितेर देखाएको बताउने गर्छन्।
उनी तरूण दल काठमाडौंका संस्थापक सभापति रहेर पनि काम गरेका थिए। तरूण दल काठमाडौंमा उनले दुई कार्यकाल काम गरेका थिए। उनी आफू सभापति जितेमा नयाँ पुस्ताको साथ लिएर पार्टीलाई सुदृढ बनाउने र निर्वाचनमा बिजयी बनाउने पनि बताउने गर्छन्। महानगर सभापति र कार्यसमिति चयन गर्न १३८ वडाका सभापतिहरू र ती वडाबाट आएका क्षेत्रीय प्रतिनिधि मतदाता हुन्छन्।

