काठमाडौं, असोज १५ गते । नजिकिएको दशैं र तिहारमा यात्रुको चाप हुने भन्दै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले दैनिक १५ वटा उडान थप गरेको छ । विमानस्थलले अक्टोबर महिनाका लागि पाँच वटा साना जहाज र १० वटा ठूला जहाज गरी दैनिक १५ वटा उडान थप गरेकोका विमानस्थलका प्रवक्ता रिन्जी शेर्पाले जानकारी दिए ।
पहाडी क्षेत्रमा उडान गर्ने तारा, समिट, नेपाल एयरलाइन्स र सीता एयरले दैनिक पाँचवटा थप गरेको छ भने सुविधा सम्पन्न क्षेत्रमा उडान भर्ने एटिआर७२ स्तरका ठूला जहाजका लागि दैनिक १० उडान थप गरेको शेर्पाले जानकारी दिनुभयो । हाल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले दैनिक ११५ उडान गर्दै आएको थियो ।
विमानस्थलले दैनिक थप गरेको १५ उडानले दैनिक ८०० जनाभन्दा बढी यात्रु आवतजावत गर्न सक्ने विमानस्थलले जनाएको छ । हाल नेपालमा बुद्ध, यति,श्री, सौर्य, तारा, समिट, गोमा, सीता र नेपाल एअरलाइन्सले नेपालका ३५ वटा विमानस्थलमा सेवा दिंदै आएका छन् ।
Previous Articleअन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस र नेपाल
Next Article एमालेको विधान महाधिवेशन ललितपुरको गोदावरीमा शुरु
