नेकपा (एमाले)को प्रथम विधान महाधिवेशन आज पनि जारी छ । ललितपुरको गोदावरीस्थित सन्राइज सम्मेलन केन्द्रमा शुक्रबार प्रस्तुत गरिएका विधान संशोधन प्रस्ताव, राजनीतिक प्रतिवेदन र साङ्गठनिक प्रतिवेदनमा आज समूहगत छलफल भइरहेको छ । विभिन्न १० समूहमा समूहगत छलफल भइरहेको छ ।
आज तीनै वटा प्रतिवेदनमाथि समूहगत छलफल भएपछि समूह नेताले प्रस्तुति भइरहेको छ । राजनीतिक प्रतिवेदन पार्टी अध्यक्ष केपी शर्मा ओली, साङ्गठनिक प्रतिवेदन महासचिव ईश्वर पोखरेल र विधान संशोधन प्रस्ताव उपमहासचिव विष्णुप्रसाद पौडेलले प्रस्तुत गरेका थिए ।
तीनवटै प्रतिवेदनमाथि समूहगत छलफलका लागि प्रदेश नं १ को समूहको सहजीकरण सुवास नेम्वाङ र भीम आचार्यले गरेका छन् । प्रदेश नं २ को समूहको सहजीकरण सत्यनारायण मण्डल र रघुवीर महासेठ, बागमती प्रदेश समूहको सहजीकरण अष्टलक्ष्मी शाक्य र रामबहादुर थापा, गण्डकी प्रदेश समूहको सहजीकरण पृथ्वीसुब्बा गुरुङ र किरण गुरुङले तथा लुम्बिनी प्रदेश समूहको सहजीकरण विष्णु पौडेल र शङ्कर पोखरेलले गरेका छन्।

