काठमाडौँ — बंगालको खाडी र मध्य भारतमा रहेको न्यूनचापीय प्रणालीमा पश्चिमी वायु प्रणालीको बलियो प्रभाव थपिएपछि दुई दिनदेखि देशभर देखिएको मौसमी प्रभाव बिहीबारदेखि कमजोर बन्दै जाने मौसमविद्हरुले आकलन गरेका छन् ।
‘पर्सिदेखि क्रमिक रुपमा मौसममा सुधार आउँछ,’ जल तथा मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् सजिना शाक्यले भनिन्, ‘आज र भोलि भने धेरै स्थानमा मौसम यस्तै रहन्छ ।’महाशाखाका अनुसार बंगालको खाडी हुँदै आएको यो प्रणालीको बढी असर सूदूर पश्चिम प्रदेशमा देखिएको छ । सूदूरपश्चिममा दुई दिनअघि नै यो प्रणाली भित्रिएको थियो । प्रणाली भित्रिएसँगै सूदूरपश्चिमका विभिन्न स्थानमा भारी वर्षा भएको छ ।
वर्षाका कारण सेती, महाकालीलगायतका नदीमा बाढी आएको छ भने नदीले कटानसमेत गरेको छ । सूदूरपश्चिमका हिमाली जिल्लाहरुमा समेत भारी वर्षा भएपछि बाढी र पहिरो निम्तिएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार देशभरका मानव सञ्चालित र स्वचालित सबै वर्षा मापन केन्द्रमा वर्षा रेकर्ड भएको छ । मनसुनपछि पनि केही स्थानमा आरीघोप्टे वर्षा भएको छ ।
