काठमाडौँ, कात्तिक ४ गते । नेपालमा पानी पार्ने प्रणाली पूर्वी भेगबाट बाहिरिएसँगै मुलुकभर मौसममा सुधार आएको छ । आज बिहानै काठमाडौँ उपत्यकालगायत अधिकांश क्षेत्रमा घाम लागेको छ । वरिष्ठ मौसमविद् बरुण पौडेलका अनुसार अबको चाररपाँच दिनयता अर्को प्रणाली विकसित हुने देखिएको छैन । भारतको विहारमा रहेका न्यून चापीय प्रणाली र पश्चिमी वायु प्रणालीको संयुक्त प्रभावले असोज ३१ देखि कात्तिक ३ गतेसम्म नै भारी वर्षा गराएको थियो । हाल उक्त प्रणाली बाहिरिए पनि सामान्य प्रभाव भने नेपालमा रहेको छ ।
“त्यस्ता प्रणालीले जलवाष्प र चिसो छाडेको हुन्छ, त्यसैले कतै बादल त कतै कुहिरो देखिन्छ”, पौडेलले रासससँग भन्नुभयो, “कतैकतै छिटफुट वर्षाको सम्भावना पनि रहन्छ ।” त्यसले ठुलो प्रभाव भने नगर्ने जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
