काठमाडौँ, कात्तिक ४ गते । १४औँ महाधिवेशन सम्पन्न भएपछि नेपाली काँग्रेसको केन्द्रीय कार्यसमिति दोब्बर ठूलो हुने भएको छ । १३औँ महाधिवेशनको तुलनामा पदाधिकारी, केन्द्रीय समितिमा पुग्ने खुला, महिला, आदिवासी जनजाति, समावेशीलगायतका क्षेत्रमा व्यापक परिवर्तन गरिएपछि काँग्रेसको केन्द्रीय समितिको आकार १६८ पुग्ने भएको हो । यसअघि यो सङ्ख्या ८५ सदस्यीय थियो । काँग्रेसको इतिहासमै सबैभन्दा ठूलो आकारको केन्द्रीय समिति बनाउन लागिएको हो ।
काँग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले केन्द्रीय समितिको आकार बढ्ने अवस्था रहेको जानकारी दिनुभयो । केन्द्रीय निर्वाचन समितिका अनुसार सभापतिसहित १४ जना पदाधिकारीको चयन यस पटकको महाधिवेशनले गर्नेछ । जसमा उपसभापति दुई जना, महामन्त्री दुई जना, सहमहामन्त्री आठ जना र कोषाध्यक्ष एक जना गरी १४ सदस्यीय पदाधिकारी रहनेछ । कोषाध्यक्षबाहेक पदाधिकारीका १३ सिट नै महाधिवेशन प्रतिनिधिले निर्वाचनको माध्यमबाट चुन्ने छन् ।

