नेकपा एमालेले एकपछि अर्को गर्दै सबै प्रदेश सरकारको नेतृत्व गुमाउँदै छ ।
यसअघि नै गण्डकी र लुम्बिनी प्रदेश सरकार तथा आफ्नै नेतृत्वको संघीय सरकार गुमाएका ओली र एमालेले आइतबारबाट प्रदेश १ सरकारको नेतृत्व पनि गुमाउने निश्चित भएको छ। कात्तिक १० मा वागमती प्रदेश सरकार पनि एमालेले गुमाउने निश्चित भएको छ।
कुनै राजनीतिक चमत्कार नभए प्रदेश १ सरकारका मुख्यमन्त्री भीम आचार्य आइतबार पदमुक्त हुने निश्चित भएको छ। एकपछि अर्को सरकार धमाधम गुमाउन थालेपछि एमाले अध्यक्ष ओलीले ‘एमाले एकता जोगाउन’ भन्दै भदौ पहिलो साता वागमतीमा अष्टलक्ष्मी शाक्य र प्रदेश १ मा भीम आचार्यलाई मुख्यमन्त्री बनाएका थिए। तर, ओलीभन्दा फरक समूहका नेतालाई मुख्यमन्त्री बनाए पनि उनीहरूले सरकार जोगाउन पुग्ने संख्या आफूसँग सुरक्षित राख्न सकेनन्।
त्यसैले छोटो सत्तायात्रापछि यी दुवै मुख्यमन्त्री बिदा हुँदैछन्। कात्तिक १० मा बागमतीमा विश्वासको मतमा मत विभाजनको औपचारिकतासँगै मुलुकको सबैभन्दा ठूलो दल एमाले सात वटै प्रदेश र केन्द्र सबैतिर विपक्षमा पुग्नेछ।

