काठमाडौँ, मङ्सिर १२ गते । अइसीसी महिला टी–२० विश्वकप एसिया क्षेत्र छनोटको अन्तिम खेलमा आइतबार (आज) नेपालले आयोजक संयुक्त अरव इमिरेट्स (युएई)) सँग प्रतिस्पर्धा गर्दैछ ।
दुबईको आइसीसी एकेडेमी मैदानमा दिउँसो ११ः१५ बजे सुरु हुने खेल नेपालका लागि निकै महत्वपूर्ण छ । यस खेलको विजेता टोलीले शीर्षस्थानमा रहँदै टी–२० विश्वकप ग्लोबल छनोटमा स्थान बनाउनेछ । त्यसैले दुवै टोलीका लागि यो निर्णायक खेल हो ।
घरेलु टोली युएई चार खेलमा अपराजित रहँदै आठ अंक सहित शीर्षस्थानमा छ । उच्च लयमा रहेको युएई नेपाललाई हराउँदै ग्लोबल छनोटमा पुग्ने दाउमा छ । नेपाल पनि अन्तिम खेलमा युएईलाई हार चखाउँदै ग्लोबल छनोटमा स्थान बनाउने योजनामा छ । युएईले मलेसियालाई ३० रन, हङकङलाई ११ रन, भुटालाई ४७ रन र कुवेतलाई सात विकेटले अपराजित यात्रा कायम राखेको छ ।
अघिल्ला चार खेलमा तीन जित र एक हार खेपेको नेपाल ६ अंक सहित दोस्रो स्थानमा छ । नेपालालाई युएईविरुद्ध जितले मात्र पुग्नेछैन । रनरेटमा समेत सुधार गर्नुपर्ने भएकोले नेपाललाई फराकिलो जितको आवश्यकता छ । नेपालको रनरेट २.०८८ छ भने युएईको २.३९८ छ ।
नेपाल पहिलो खेलमा हङकङसँग ६ विकेटले पराजित भएपछि दबाबमा परेको थियो । त्यसपछि नेपालले भुटानलाई आठ विकेट, कुवेतलाई नौ विकेट र मलेसियालाई ६ विकेटले हराउँदै ग्लोबल छनोटको सम्भावना कायम जिवित राखेको हो ।

