काठमाडौंको पुरातात्विक मन्दिर काष्ठमण्डपको पुनर्निर्माण सकिएको घोषणा भएको छ । शुक्रबार काष्ठमण्डप पुनर्निर्माण समितिले पत्रकार सम्मेलन गर्दै काष्ठमण्डपको पुनर्निर्माण ९९ प्रतिशत सकिएको जानकारी दिएको हो ।
०७२ सालको भूकम्पमा क्षतिग्रस्त भएको काष्ठमण्डप पुनर्निर्माणका लागि विभिन्न निकायबाट ११ करोड ५० लाख अनुदान प्राप्त भएकोमा करिब ११ करोड ३९ लाख खर्च भएको समितिका अध्यक्ष एवम् बागमती प्रदेशका सांसद राजेश शाक्यले बताए ।
काठमाडौं महानगरपालिकाले बनाउन जिम्मा लिए पनि ठेकदारमार्फत बनाउन खोजिएपछि विवाद भएको थियो । स्थानीयले उपभोक्ता समितिमार्फत काम गराउन माग गरेपछि काष्ठमण्डप बनाउन पुनर्निर्माण समिति बनाएर काम सुरु भएको थियो ।
‘सातौँ शताब्दीको काष्ठमण्डप हामीले हाम्रै श्रम, पुँजी र प्रविधिले बनाउन सक्छौँ भन्ने ज्वलन्त उदाहरण हो काष्ठमण्डप पुनर्निर्माण’, अध्यक्ष शाक्यले भने । पुनर्निर्माणका क्रममा काष्ठमण्डपमा अहिले काठबाहेक ढुङ्गा, माटो, इँटा, तामा लगायतका सामग्रीको पनि प्रयोग गरिएको शाक्यले बताए ।
अध्ययनका क्रममा काष्ठमण्डप निर्माण गर्दा यहीँ ठाउँको माटो प्रयोग भएको खुल्न आएको संस्कृतिविद् सुर्दशन तिवारीले बताए । ‘इतिहास अध्ययनकर्ता र सम्पदाप्रेमीका लागि यो गौरवको विषय हो’, उनले भने ।
काष्ठमण्डप पुनर्निर्माणमा स्थानीयबासिन्दाको सहभागिताले सम्पदालाई थप बलियो बनाएको पुरातत्व विभागका पर्व निर्देशक कोषराज आचार्यले बताए । काठैकाठले बनेको काष्ठमण्डपलाई पुनर्निर्माण गर्दा काठको अभावका कारण निकै गाह्रो भएको हनुमानढोका हेरचाह अड्डाकी तत्कालीन अधिकृत अरुणा नकर्मीले बताइन् ।
खण्डित मूर्तिलाई पूजा गर्नुहुँदैन भन्ने मान्यताकै कारण गोरखनाथको नयाँ मूर्ति प्रतिस्थापन गरिएको समितिले जनाएको छ । पुरानो मूर्ति भने हुनमान ढोकामा संरक्षित छ । किंवदन्तीअनुसार एउटै काठले बनेको काष्ठमण्डप सातौं शताब्दीको सम्पदा हो ।
