नन्दलाल खरेल
शासक तिमी, सिंहासनमा बसेर
जनताको आँसुको भार देख्दैनौ,
अर्काको दु:ख तिमीलाई कथा जस्तै लाग्छ,
तर ती कथा हाम्रो जीवन हो — बुझ्दैनौ।1।
शासक तिमी, सुनौलो भाषणले
भोक मेटिँदैन, पीडा हट्दैन,
तिमीले बनाउने योजना कागजमा रहन्छ,
हामीले रोज्ने पसीना धुलोमै जान्छ।2।
शासक तिमी, रथमा घुम्दा
धूलो उडेर हामीलाई छोप्छ,
तिमीको बाटो फूलले सजिन्छ
हाम्रो बाटो काँडाले कोप्छ।3।
शासक तिमी, बोल्छौ– “देश बदल्छु”,
तर बदलिन्छ जनता, देश उस्तै रहन्छ,
तिमी बदलिन्छौ कुर्सीका रंगसँगै,
हामी उही पुराना घाउ बोकी हिँड्छौं।4।

शासक तिमी, सिंहासनमा बसेर
जनताको पीडा सुन्दैनौ कहिल्यै,
तिमीले देख्ने दृश्यहरू स्वर्णमय छन्,
तर हामीले भोग्ने यथार्थ त कठोर छ।5।
शासक तिमी, भाषणमा सपना सुनाउँछौ,
तर पेट खाली छ – त्यो कसले बुझ्ने?
तिमीले निर्माण गर्ने महलहरू चिटिक्क छन्,
हाम्रो छाना भने टपक्कै चुहिन्छ।6।
शासक तिमी, नियम बनाउँछौ आफैका लागि,
न्यायको तराजु पनि तिमीले तौल गर्छौ।
तिमी बोल्दा देश बन्छ भन्दै गर्जन्छौ,
तर सडकमा त अझै भोकै जनता छ।7।

