काठमाण्डौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का उपाध्यक्ष रवीन्द्र मिश्र तीन लाख धरौटी बुझाएर छुटेका छन् । मिश्रकी श्रीमती सारिका कार्कीले धरौटीबापतको तीन लाख रुपैयाँ जम्मा गरेपछि मिश्र छुटेका हुन् ।
तीनकुने घटनामा प्रतिवादी बनाइएका उनी मङ्गलबार बिहान आफैँ अदालतमा उपस्थित भएका थिए । मिश्र उपस्थित भएपछि आज मात्रै उनको बयान र थुनछेक बहस गरिएको हो ।
न्यायाधीश तारादेवी महर्जनको इजलासमा वरिष्ठ अधिवक्ताहरु गोविन्द बन्दी, भिमार्जुन आचार्य, राजु बस्नेत र सतिशकृष्ण खरेलले मिश्रको तर्फबाट बहस गरेका थिए भने सरकारी वकिलका तर्फबाट ८ जना सरकारी वकिलले बहस गरेका थिए।
बहसपछि अदालतबाट राप्रपा उपाध्यक्ष मिश्रलाई तीन लाख धरौटीमा छाड्न आदेश भएको हो ।
मिश्रविरुद्ध गत चैत १५ गते घटेको तीनकुने घटनाको प्रतिवादीका रुपमा राज्य विरुद्धको कसुर, आपराधिक उपद्रव, सङ्गठित अपराध र एकीकृत कसुरमा सजायको मागदावी लिइएको थियो ।
सोही मुद्दामा सोमबार मात्र राप्रपाका महामन्त्री धवलशमशेर राणालाई पनि अदालतले ३ लाख धरौटीमा रिहा गरेको थियो ।

