काठमाडौँ, साउन २ गते ।
नेपाली कला, साहित्य र राजनीतिक क्षेत्रका विशिष्ट व्यक्तिहरू आज नेकपा माओवादी केन्द्रमा प्रवेश गर्नुभएको छ । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उहाँहरूलाई पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा
स्वागत गर्नुभयो।
माओवादी केन्द्रमा प्रवेश गर्नेहरूमा एमाले निकट राष्ट्रिय जनसांस्कृतिक महासङ्घ केन्द्रीय परिषद् सदस्य चन्दु गोर्खाली, चलचित्र निर्माता तथा अभिनेता सुरेन्द्र बराल, नेपाली काङ्ग्रेस निकट लेखक ,पल्लव साहित्य प्रतिष्ठान चितवनका अध्यक्ष ऋषिप्रसाद लामिछाने (गोर्खे साईंलो), चलचित्र कलाकार केशर बिसी , रामेछाप एमालेका पूर्व निर्वाचित वडा अध्यक्ष भीमबहादुर मगर लगायतलाई अध्यक्ष प्रचण्डले पार्टीमा स्वागत गर्नुभयो ।उहाँले “बधाई ज्ञापन गर्दै पार्टी तथा आन्दोलनमा स्वागत गर्न चाहन्छु। अहिलेको परिवर्तन किन आयो भन्ने कुरा जनतालाई थाहा छ। यदि हामीले त्याग, समर्पण र सङ्घर्ष नगरेको भए यो परिवर्तन सम्भव हुने थिएन।यो परिर्वतनलाई जनताको पक्षमा काम गर्नका लागि तपाईहरूको पार्टी प्रवेशले योगदान दिने छ ।”
माओवादी केन्द्रको पहल र सङ्घर्षका कारण स्थापित परिर्वतन सबैलाई थाहा भएको भएपनि माओवादी र प्रचण्डको उचाइ बढ्छ भनेर केही मान्छेहरूले त्यसका विरुद्ध गतिविधि गर्ने गरेको उहाँले बताउनुभयो ।
उहाँले भन्नुभयो, “केही मान्छे माओवादी र प्रचण्डको उचाइ बढ्छ भनेर चिन्तित छन्, तर हामीले तीनपटक सरकारको नेतृत्व गर्दा देशको ऐतिहासिक रूपान्तरणमा निर्णायक पहलकदमी लिएका छौँ। हाम्रो सङ्कल्प नेपाली समाजको नयाँ खाका कोर्नु हो, जुन माओवादीसँग मात्रै सम्भव छ।”संस्कृति र कलाको महत्त्वमाथि प्रकाश पार्दै प्रचण्डले भन्नुभयो, “प्रधानमन्त्री हुँदा मेरो नेतृत्वको सरकारले गरेको पहलले सांस्कृतिक क्षेत्रलाई टेवा पु-याएको छ। संस्कृतिमा शक्ति हुन्छ — यही मान्यतामा आधारित भएर कलाकारहरूलाई पार्टीमा समायोजन गर्ने प्रक्रिया अघि बढाइएको हो। बदलिएको परिस्थितिमा फेरि पनि कलाकर्मीहरूलाई पार्टीमा जोड्नुपर्ने आवश्यकता महसुस गरिएको छ।” पार्टीले आगामी दिनमा अझ धेरै क्षेत्रका व्यक्तिहरूलाई सङ्गठित गर्ने र कलाकर्मी, साहित्यकार, संस्कृतिकर्मीहरूको योगदानलाई संस्थागत रूप दिन पहल गर्ने अध्यक्ष प्रचण्डले जानकारी दिनुभयो ।
कार्यक्रममा बोल्दै नवप्रवेशी ऋषीप्रसाद लामिछाने (गोर्खे साइँलो )ले भन्नुभयो, “म २०२२ सालदेखि काङ्ग्रेस पार्टीमा क्रियाशील थिएँ। आन्दोलनका उतारचढावहरू देखेँ तर काङ्ग्रेस पार्टीका पछिल्ला गतिविधिहरू आत्मसात् गर्न सकिनँ। त्यसैले जनताको पक्षमा काम गर्न माओवादी केन्द्र रोजेको हुँ।”
जनसांस्कृतिक महासङ्घ नेपालका केन्द्रीय अध्यक्ष भीम कुमाखीले कार्यक्रमको सहजीकरण गर्नुभएको थियोे ।
Previous ArticleHistoric service program completed at Pashupati, world record set by Lions Governor Parbati Kharel
Next Article साउनको पहिलो सोमबार: शिवमन्दिरहरूमा भक्तजनको घुइँचो

