काठमाडौँ — क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका स्थायी समिति सदस्य हेमन्तप्रकाश ओली ‘सुदर्शन’लाई पितृशोक परेको छ। रुकुम पश्चिम त्रिवेणी गाउँपालिका–६, विता निवासी उहाँका बुबा हर्कसिंह ओलीको काठमाडौँस्थित गंगालाल राष्ट्रिय हृदय केन्द्रमा उपचारका क्रममा असामयिक निधन भएको हो।
८९ वर्षीय हर्कसिंह ओली मुटुरोगबाट पीडित रहँदै आउनु भएको थियो। विगत केही महिनादेखि उहाँलाई निरन्तर गंगालाल अस्पतालमा भर्ना गरी उपचार भइरहेको थियो। अस्पताल स्रोतका अनुसार उहाँको आज बिहान करिब ३ बजे निधन भएको हो।
मृतक ओलीको आज बिहान ९ बजे पशुपति आर्यघाटस्थित विद्युतीय शवदाहगृहमा अन्त्येष्टि गरिने जानकारी प्राप्त भएको छ। पारिवारिक स्रोतका अनुसार उहाँका एकमात्र छोरा हेमन्तप्रकाश ओली ‘सुदर्शन’ र चार छोरीहरू हुनुहुन्छ।
हर्कसिंह ओलीको निधनप्रति क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका नेता तथा कार्यकर्ताहरू, आफन्तजन र शुभेच्छुकहरूले गहिरो दुःख व्यक्त गरेका छन्। सामाजिक सञ्जालमार्फत् मृतकप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै नेता सुदर्शनसहित शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना प्रकट गरिएको छ।

