असोज २८, काठमाडौं । माल्दिभ्समा जारी साफ च्याम्पियनसिप २०२१ मा नेपाल फाइनल प्रवेश गरेको छ।
बुधबार माल्दिभ्सको राजधानी मालेस्थित राष्ट्रिय रंगशालामा भएको खेलमा बंगलादेशलाई बराबरीमा रोक्दै नेपाल पहिलोपटक फाइनलमा पुगेको हो। नेपालले बंगलादेशविरूद्ध दोस्रो हाफमा गोल गरेको थियो। नेपालका लागि अन्जन विष्टले ८८ औं मिनेटमा पेनाल्टीमार्फत् गोल गरेका हुन्।
बंगलादेशका सुमन रेजाले नेपालविरूद्ध खेलको नवौं मिनेटमा गोल गरेका थिए।
बराबरीसँगै नेपालले चार खेलबाट ७ अंक जोडेको छ।
च्याम्पिनयसिपमा अपराजित भएको भारतले आयोजक माल्दिभ्सलाई ३–१ को नतिजा निकाल्दै उपाधिका लागि नेपालसँग भिडन्त पक्का गर्यो।
नेपालले यसअघि खेलेका १२ संस्करणमा फाइनलमा स्थान बनाउन सकेको थिएन। त्यसैले नेपाली फुटबलका लागि यो ऐतिहासिक सफलता हो।
फाइनल खेल आउँदो शनिबार नेपाली समयअनुसार राति ८:४५ मा हुनेछ।

