बैशाख ९ मंगलबार ,२०८२
काभ्रेपलाञ्चोक। जिल्लामा माेफसलकाे पत्रकारीतामा स्थापित नव क्षितिज साप्ताहिकले स्थापनाको २४ वर्ष पूरा गरेको छ। हिजो साेमबारबाट २५औं वर्षमा प्रवेश गरेको हो । रजत वर्षको उपलक्ष्यमा साप्ताहिकले विविध कार्यक्रमहरूको आयोजना गर्दै उत्सवमय वातावरणमा वार्षिकोत्सव मनाएको हो।
पत्रिकाको रजिष्टार्ड कम्पनी क्षितिज प्रकाशन प्रालिका अध्यक्ष नवराज बजगाईंको अध्यक्षतामा सम्पन्न उक्त विशेष कार्यक्रम पूर्व राष्ट्रपति डा. रामवरण यादव प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । कार्यक्रममा मन्तव्य दिँदै पूर्व राष्ट्रपति डा. यादवले साप्ताहिक पत्रिकाहरूले देशको राजनीतिक, ऐतिहासिक र सामाजिक घटनाक्रमलाई गहिरो ढंगले विश्लेषण गर्दै तथ्यमा आधारित निष्पक्ष समाचार प्रकाशन गर्नुपर्ने आवश्यकता औंल्याए। साथै, नव क्षितिजलाई सत्य, तथ्य र निष्पक्षतामा आधारित पत्रकारिताका लागि शुभकामना पनि व्यक्त गरे।
कार्यक्रममा प्रदेशसभा सदस्यहरू रत्न ढकाल, लक्ष्मण लम्साल राजनीतिक दलका नेतागण, समाजका विभिन्न क्षेत्रमा सक्रिय विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको थियो। सो अवसरमा नव क्षितिज साप्ताहिकको रजत वर्षको लोगो सार्वजनिक गरिनुका साथै विशेष स्मारिका प्रकाशन र गीतको भिडियो विमोचन पनि गरिएको थियो । कार्यक्रममा पत्रिकाको यात्रामा विभिन्न कोणबाट योगदान पुर्याउँदै आएका व्यक्तिहरुलाई कदर गर्दै सम्मानित गरिएको थियो।
पत्रिकाका सह-सम्पादक अरबिन्द्र गौतम समेत कार्यक्रमको दौरान नगरदसहित सम्मानित भएका छन् । गौतमले प्राप्त अभिनन्दनले आफूलाई पत्रकारिता थप सशक्त भएर लाग्न प्रेरणा मिलेको उल्लेख गरेका छन् ।

