काभ्रेप्लाञ्चोक । काभ्रेप्लाञ्चोक जिल्लाका उत्कृष्ट १३ स्थानीय तहलाई सम्मान गरिएको छ। जिल्ला समन्वय समितिको आठौँ सभा तथा आर्थिक वर्ष २०८१/८२ को प्रगति समीक्षा कार्यक्रममा उत्कृष्ट स्थानीय तहलाई सम्मान गरिएको हो।
चालु आर्थिक वर्षमा बेरुजुलाई शून्यमा कायम गर्न सफल महाभारत गाउँपालिका, प्राकृतिक स्रोत तथा वित्त आयोगको मूल्याङ्कनमा जिल्ला प्रथम भएको बनेपा नगरपालिका, लिजामा गाउँपालिकामध्ये जिल्ला प्रथम भएको खानीखोला, लिजामा नगरमध्ये जिल्ला प्रथम हुने नमोबुद्ध नगरपालिकालाई सम्मान गरिएको हो।
त्यसैगरी, स्वास्थ्य नगर घोषणा गर्न सफल भएकामा धुलिखेल नगरपालिका, विपद्मा राहत तथा उद्धार कार्यमा उत्कृष्ट कार्य गर्ने बेथानचोक गाउँपालिका, स्थानीय तह वित्तीय सुशासनमा उत्कृष्ट रोशी गाउँपालिका, वन डढेलोमुक्त गाउँपालिका घोषणा भएको भुम्लु गाउँपालिका, नगरमध्ये कम बेरुजु बनाउने मण्डनदेउपुर नगरपालिका, पशुबिमा कार्यक्रममा उत्कृष्ट पनौती नगर, नसर्ने रोगको क्षेत्रमा अनुकरणीय काम गर्ने तेमाल गाउँपालिका, आम्दानी जोड्ने पाँचखाल नगरपालिका र सामाजिक सुरक्षा भत्ता वितरणमा उत्कृष्ट काम गरेबापत चौंरीदेउराली गाउँपालिकालाई सम्मान गरिएको हो ।
काठमाडौं विश्वविद्यालयका उपकुलपति अच्युत वाग्ले, सशस्त्र प्रहरी १५ नम्बर गुल्म, श्रीमेयर गण, राष्ट्रिय अनुसन्धानलगायत सुरक्षा निकायका प्रमुख लगायतलाई पनि कार्यक्रममा सम्मान गरिएको थियो। विपद्मा सूचना तथा प्रसारणमार्फत सहयोग गरेकामा नेपाल पत्रकार महासङ्घ काभ्रेपलाञ्चोक शाखालाई पनि सम्मान गरिएको छ।
नेपाल कम्युनिष्ट पार्टी (एमाले)का पोलिटब्यूरो सदस्य गोकुलप्रसाद बाँस्कोटा र जिल्ला समन्वय समिति प्रमुख दीपककुमार गौतमले संयुक्त रूपमा सम्मान गरेका हुन् ।

