काठमाण्डौ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) द्वारा आयोजित ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५’ मा एक लाख बढी दर्शकले अवलोकन गरेको आयोजकले जनाएका छन्। श्रावण २१ गते शुरु भएर बुधबार सम्पन्न एक्स्पो एक लाख भन्दा धेरै दर्शकले अवलोकन गरेका हुन्।
समापन समारोहमा एक्स्पोसँग प्रत्यक्ष तथा अप्रत्यक्षरूपमा संलग्न सम्पूर्णलाई धन्यवाद दिँदै नाइमाका अध्यक्ष, रितु सिंह वैद्यले एक्स्पो अपेक्षा गरेभन्दा बढी सफल भएको बताइन्। नाइमाका कार्यकारी निर्देशक राजकुमार दुलालले नाइमाले एक्स्पोका दौरान पाँच दिनसम्म निरन्तर सिकाइका सत्र सञ्चालन गरी नाइमा यो क्षेत्रको समग्र विकासमा प्रतिबद्ध छ भन्ने सन्देश प्रवाह गरेको बताए।
सरकारी तथा गैरसरकारी संस्थाका कर्मचारी, स्थानिय तहका जन प्रतिनिधि, उद्योग क्षेत्रका प्रतिष्ठित व्यक्तित्व, सञ्चारकर्मी, व्यवसायी, अटोमोबाइल क्षेत्रका अग्रज व्यक्ति, कूटनीतिक नियोगका पदाधिकारी, तथा सर्वसाधारणको बाक्लो उपस्थिति रहेको एक्स्पो बुधबार साँझ विशेष कार्यक्रमका साथ सम्पन्न भएको हो ।
सवारी साधन मात्रै प्रदर्शनीमा राखिएको नेपालकै सबैभन्दा ठूलो एक्स्पो- नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५ मा पहिलो दिन १५ हजार, दोस्रोे दिन १३ हजार ५००, तेस्रो दिन १९ हजार ५००, चौथो दिन २१ हजार ५००, पाँचौ दिन २२ हजार, र छैटौँ दिन ७ हजार ८०० दर्शकले अवलोकन गरे। साउन २१ देखि २६ गतेसम्म सर्वसाधारणका लागि खुला रहेको ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५’ मा ५० भन्दा बढी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ब्राण्ड सहभागी थिए।

