१२ मंसिर, काठमाडौं । नेपाली टीम “ट्रेण्ड टू किल” (टीटूके) पब्जी मोबाइल विश्व च्याम्पियनसिपको फाइनल चरणमा पुगेको छ । विश्व च्याम्पियनसिपको छनोट प्रक्रिया पार गरी प्रतियोगिता खेलेका नेपालका तीन टिममध्ये टीटूकेले सबैभन्दा ठूलो सफलता पाएको हो । यसले नेपाली पब्जीमा सबैभन्दा ठूलो चम्किलो परिचय बनाएको छ । टीटूकेका अभिशेकसिंह, सुयोग मुल्मी, वसन्त गौतम, सन्देश प्रधान र रिग्देन बज्राचार्यले यो सफलता दिलाएका हुन् । एल्लो ग्रुपमा रहेको टीटूकेले समूहमा रहेका १६ टिममध्ये तेस्रो हुँदै फाइनल चरणमा प्रवेश पाएको हो । जापानको आरसी टिमसँग समान २१४ अंक रहे पनि प्रदर्शनका आधारमा टीटूके भाग्यमानी बनेको हो । यो समूहबाट मलेसियाको गीक टिम २९२ अंक र मलेसियाको फोर एएमले २३१ अंकका साथ क्रमसः शीर्ष र दोस्रो स्थानमा रहेर फाइनल चरणका लागि छनोट भएका हुन् ।
तेस्रो संस्करणको पब्जी मोबाइल विश्व च्याम्पियनसिपमा पहिलोपल्ट नेपालबाट तीन टिम छनोट भएका हुन् । यसअघि नेपालको डीआरएसले मात्र खेलेको थियो । डीआरएस समूह रेडमा छैटौं स्थानमा रहेर सर्भाइभल चरणका लागि छनोट भएको छ । अर्को नेपाली टिम स्काईलाइट्ज समूह ग्रीनमा रहेर नवौं हुँदै सर्भाइभल चरणका लागि छनोट भएको छ । समूह चरण र सर्भाइभल चरणका खेलहरु मलेसियामा भइरहेको छ । तीन समूहमा शीर्ष चारदेखि एघारौं स्थानमा रहेका टिमबीच सर्भाइभल चरणमा प्रतिस्पर्धा हुनेछ । यो प्रतिस्पर्धा मंगलबारदेखि चार दिनसम्म चल्नेछ । सर्भाइभल चरणमा पुगेका २४ टिममध्ये १६ टिमले अन्तिम अवसर चरणमा प्रवेश पाउनेछन् । बाँकी ८ टिम बाहिरिनेछन् । अन्तिम चरणमा १६ टिमबीच प्रतिस्पर्धा गरी पाँच टिमले फाइनल चरणमा प्रवेशका लागि अर्को अवसर पाउनेछन् ।
