उदयपुर – नेपाल एपीएफ क्लबले एन्फा महिला च्याम्पियनसिपको उपाधि जितेको छ। शनिबार सम्पन्न फाइनलमा एपीएफले अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लब लाई २–१ गोल अन्तरले पराजित गर्दै च्याम्पियन बनेको हो।
उदयपुरको गाईघाटस्थित थरूहट रंगशालामा भएको खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। दोस्रो हाफको ५५औं मिनेटमा गीता रानाले गोल गर्दै एपीएफलाई अग्रता दिलाइन्। ६८औं मिनेटमा रेणुका नगरकोटीले अर्को गोल थपेपछि एपीएफ २–० ले अघि बढ्यो। त्यसको तीन मिनेटपछि जेनिफर रानाले आर्मीका लागि गोल गर्दै खेलमा फर्काउने प्रयास गरे पनि त्यसपछि थप गोल हुन सकेन।
उपाधिसँगै एपीएफले ७ लाख ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्यो। उपविजेता आर्मीले ५ लाख रुपैयाँमा चित्त बुझायो।
प्रतियोगितामा एपीएफकी रश्मी कुमारी घिसिङ सर्वाधिक गोलकर्त्री बन्दै ५० हजार रुपैयाँसहित गोल्डेन बुट हात पारिन्। आर्मीकी दीपा शाही मोस्ट भ्यालुएबल प्लेयर घोषित हुँदै ५० हजार रुपैयाँसहित ट्रफी प्राप्त गरिन्।
उत्कृष्ट गोलकिपरको अवार्ड एपीएफकी अञ्जना रानामगरले जितिन्। उनले गोल्डेन ग्लोभ्ससहित ५० हजार रुपैयाँ प्राप्त गरिन्।

