– माधव घिमिरे ‘अटल’
२०८१ मङ्सिर २२ शनिवार कर्मदा सिर्जना मञ्च नेपाल पाउँदीबजार लमजुङको ४३ औँ स्वतन्त्र काव्यगोष्ठी, छैटौँ स्थापना दिवस तथा तेस्रो अधिवेशन संस्थाका अध्यक्ष जगदीश्वर पोख्रेलको अध्यक्षतामा सम्पन्न भयो । प्रमुख आमन्त्रित वरिष्ठ कवि नारायणप्रसाद पोखरेलज्यू, विशिष्ट अतिथि हरिकुमार श्रेष्ठज्यूको गरिमामय उपस्थितिमा सम्पन्न उक्त कार्यक्रमको सञ्चालक संस्थाका सचिव रामप्रसाद गुरुङले र सहसचिव युवराज खनालले कुशलतापूर्वक सञ्चालन गर्नुभएको थियो ।
वरिष्ठ उपाध्यक्ष लक्ष्मीप्रसाद मिश्रले संस्थाको सङ्क्षिप्त गतिविधि प्रस्तुत गर्नुका साथै उपस्थित जनहरूलाई स्वागत गर्नुभएको थियो । राष्ट्रिय गान गाएर शुभारम्भ गरिएको सो कार्यक्रममा सम्पूर्ण ज्ञात-अज्ञात शहीदप्रति श्रद्धा सुमन अर्पण गर्न १ मिनेट मौन धारण गरिएको थियो ।
स्थापना दिवसको उद्घाटन प्रमुख अतिथिले व्यानर वाचन तथा कपूरको बिरुवा रोपेर गर्नुभएको थियो । सो अवसरमा अध्यक्ष पोखरेलले सञ्चालक समितिको प्रतिवेदन प्रस्तुत गर्नुभयो । कोषाध्यक्ष भूमिनन्दन तिमल्सिनाले आयव्ययको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।
आजीवन सदस्य, साहित्य प्रेमी तथा साहित्यानुरागी लगायत विभिन्न संस्थाका गरी सयभन्दा बेसीको सहभागिता रहेको थियो । अध्यक्ष जगदीश्वर पोखरेलले अक्षयकोषको लागि एकलाख एक हजारको चेक संस्थालाई हस्तान्तरण गर्नु भएको थियो ।
कार्यक्रममा संस्थाका आजीवन सदस्यहरूलाई प्रमाणपत्रले विभूषण गरियो । कार्यसमितिका पदाधिकारी रामप्रसाद गुरुङ, लक्ष्मीप्रसाद मिश्र र भूमिनन्दन तिमल्सिनालाई सम्मान गरियो भने रेडियो चौतारी, रेडियो मर्स्याङ्दी, रेडियो भोटेवडार, तथा मर्स्याङ्दी आधारभूत विद्यालयलाई पनि सम्मान अर्पण गरिएको थियो ।
त्यस्तै नारायणप्रसाद पोखरेल, तीर्थराज अधिकारी, खुशीराम डौलिया, जगदीश्वर पोखरेल, लक्ष्मीप्रसाद मिश्र, शारदा पाण्डे , वसन्त अधिकारीको सिर्जना प्रस्तुति पनि रहेको थियो ।
प्रमुख आमन्त्रित नारायणप्रसाद पोखरेल ज्यूले ‘कर्मदा सिर्जना मञ्च नेपालले नेपाली भाषा साहित्यको श्रीवृद्धि गर्नको लागि कवि-गोष्ठी गरिरहेको छ । त्यसै सिलसिलामा छैटौँ स्थापना दिवस भव्य रूपमा सम्पन्न गऱ्यो । आफ्नो भाषा बचाउनुपर्छ भन्दै कर्मदा सिर्जना मञ्चको उन्नयनको लागि शुभकामना दिनुभएको थियो ।
सभाध्यक्ष पोखरेलले छैटौँ स्थापना दिवस सफल बनाइदिनुहुने सबै सहभागीलाई धन्यवाद ज्ञापन गर्नुभयो । उहाँले पहिलो सत्र समापन भएको घोषणा गर्दै वर्तमान कार्य समिति भङ्ग भएको घोषणा गरी निर्वाचन आधिकृत डिल्लीमान श्रेष्ठलाई नयाँ कार्यसमिति चयन गर्न विधानको अधीनमा रही कार्य सम्पन्न गर्न मञ्च प्रदान गर्नुभयो । डिल्लीमान श्रेष्ठ तथा सदस्यद्वय उमाकान्त न्यौपाने र रामहरि न्यौपानेको निर्वाचन मण्डलले निम्नबमोजिमको नयाँ कार्यसमिति चयन गर्यो-
१) अध्यक्ष- जगदीश्वर पोखरेल २) उपाध्यक्ष- लक्ष्मीप्रसाद मिश्र ३) उपाध्यक्ष- रामप्रसाद गुरुङ ४) उपाध्यक्ष पुष्पादेवी मिश्र ५) उपाध्यक्ष- भूमिनन्दन तिमल्सिना
६) सचिव- विष्णुप्रसाद पौडेल ७) सहसचिव- प्रकाशचन्द्र पोखरेल ८) कोषाध्यक्ष- शुक्रबहादुर अधिकारी ९) सदस्य-बलिन्द्र के सी १०) सदस्य- प्रतिमाया गुरुङ ११) सदस्य- शारदा बिसुराल पाण्डे १२) सदस्य- कमल अधिकारी १३) सदस्य- बुद्धिबहादुर खड्का १४) सदस्य- राममाया शाही १५) सदस्य- रामकृष्ण अधिकारी
नव-निर्वाचित अध्यक्ष जगदिश्वर पोखरेलले निर्वाचन मण्डलका पदाधिकारीहरूलाई कदरपत्र दिँदै निर्वाचन सम्पन्न गरेकोमा हार्दिक धन्यवाद दिनुभयो । त्यसरी नै निर्वाचित पदाधिकारीहरूलाई बधाई दिँदै कार्यकालको सफलताको लागी शुभकामना दिनुभयो । अन्तमा सम्पूर्ण सहभागीलाई धन्यवाद दिँदै उहाँले कार्यक्रम समापन भएको घोषणा गर्नुभयो ।

