काठमाडौंको कालिमाटीस्थित स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थामा भएको ठूलो अनियमितता प्रकरणमा रवि लामिछानेसहित ३९ जनाविरुद्ध मुद्दा दर्ता गरिएको छ। जिल्ला प्रहरी परिसर, काठमाडौंले गरेको अनुसन्धानका आधारमा जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौंले आइतबार काठमाडौँ जिल्ला अदालतमा मुद्दा दर्ता गरेको हो।
लामिछानेविरुद्ध ५ करोड ८ लाख ६७ हजार ६३३ रुपैयाँ मागदाबीसहित मुद्दा दायर भएको छ ।
छविलाल जोशीविरुद्ध ५ करोड ७८ लाख ९६ हजार ४८० बिगो माग दाबी गरिएको छ । सबै प्रतिवादीबाट असुल उपर गर्नेगरी कुल १ अर्ब १९ करोड ४९ लाख २१ हजार २९० बिगो दाबी गरिएको छ ।
स्वर्णलक्ष्मी सहकारीमा बचतकर्ताको १ अर्ब १९ करोड ९५ लाख रुपैयाँ अनियमितता गरेको आरोप छ।
प्रकरणमा गोर्खा मिडिया प्रा.लि.का तत्कालीन सञ्चालक समिति सदस्य रवि लामिछाने, स्वर्णलक्ष्मी सहकारीका अध्यक्ष गितेन्द्रबाबु (जिबी) राई, उपाध्यक्ष देवेन्द्रबाबु राई, कोषाध्यक्ष कुमार रम्तेल, सचिव इरान लामा, सहसचिव कविता तामाङ, र अन्य सदस्यहरूसहित ३९ जनालाई प्रतिवादी बनाइएको छ।
अनियमिततामा संलग्न ठहरिएका अन्य व्यक्तिहरूमा जिबी ग्रुप अफ कम्पनिजका सञ्चालक विशाल तामाङ, असरफ अली सिद्धिकी, नेचर नेष्ट प्रा.लि.का अनन्त बाबु राई, गोर्खा ग्रुप अफ कम्पनीका शेयरधनी पुष्पराज पौडेल, स्पीङ उड रियलस्टेट प्रा.लि.का भगवती बम्जनलगायत व्यक्ति र संस्थाहरू समावेश छन्।
जिल्ला प्रहरी परिसरले सहकारी घोटालामा संलग्न व्यक्तिहरूको विस्तृत अनुसन्धानपछि मुद्दा दर्ता गरेको हो। सहकारीका पूर्वसदस्य र व्यवस्थापकहरूसमेत प्रतिवादी सूचिमा परेका छन्।
सहकारी ठगी प्रकरणमा लामिछानेविरुद्ध पोखराको सूर्यदर्शन सहकारी प्रकरणमा पनि मुद्दा चलिरहेको छ। यस प्रकरणसँगै उनीमाथि दुई फरक सहकारी घोटालाका अभियोग थपिएका छन्।
सहकारीको अनियमितताले हजारौं बचतकर्ता प्रभावित भएका छन्। उनीहरूले आफ्नो बचत फिर्ता गर्न माग गर्दै निरन्तर दबाब दिइरहेका छन्। यो मुद्दाले सहकारी व्यवस्थापनको विश्वसनीयता र नियमनका उपायहरूमा ठूलो प्रश्न उठाएको छ।

