मंसिर र पुस महिनामा घट्दै गएको रेमिट्यान्स माघ महिनामा फेरि आफ्नो लयमा फर्किएको छ।नेपाल राष्ट्र बैंकका अनुसार माघ महिनामा मात्रै करिब १३७ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको छ।
राष्ट्र बैंकको तथ्यांकअनुसार माघ मसान्तसम्म कुल विप्रेषण आप्रवाह ९०० अर्ब ५८ करोड रुपैयाँ पुगेको छ। पुस मसान्तसम्म यस्तो रकम ७६३ अर्ब ८ करोड रुपैयाँ थियो। यससँगै रेमिट्यान्सको वृद्धिदर ४.१ प्रतिशतबाट बढेर ७.३ प्रतिशत पुगेको छ। तर, यो वृद्धिदर गत वर्षको तुलनामा भने कम हो। अघिल्लो वर्षको यही अवधिमा रेमिट्यान्स आप्रवाह १८.८ प्रतिशतले बढेको थियो।
यसैगरी, अमेरिकी डलरमा रेमिट्यान्स आप्रवाह ५.३ प्रतिशतले बढेर ६ अर्ब ६५ करोड पुगेको छ। गत वर्ष यस्तो आप्रवाह १६.४ प्रतिशतले बढेको राष्ट्र बैंकले जनाएको छ। समीक्षा अवधिमा खुद द्वितीय आय (खुद ट्रान्सफर) ९८५ अर्ब १७ करोड रुपैयाँ पुगेको तथ्यांक छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय ९१० अर्ब ७७ करोड रुपैयाँ थियो।
समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या २ लाख ७४ हजार ६२२ रहेको छ भने पुनः श्रम स्वीकृति लिनेको संख्या १ लाख ९० हजार ८८६ छ। यी दुवै संख्या अघिल्लो वर्षको तुलनामा बढी छन्।

